असार २४ – आन्तरिक राजस्व विभागले निर्धारण गरेको अन्तःशुल्क स्टिकर दुरुपयोग गर्दै दुईवटा खैनी उद्योगले खुल्लेआम करोडौं रुपैयाँ राजस्व छली गरिरहेको पाइएको छ ।
अभिनव सूर्ति उद्योग र गोर्खा टोवाको इण्डष्ट्रिज प्रालीले खैनी उत्पादन गरेर निकासी गर्दै बजारमा पुर्याउँदा भारी मात्रामा राजस्व छली गरिरहेको फेला परेको हो ।
प्रदेश १ मा विशेष बजार जमाएका दुवै उद्योेग काठमाडौंका हुन् । उनीहरुले प्रदेश १ मा खैनीको ५० प्रतिशत बढी बजार कब्जा गरेको उद्योग व्यवसायीको भनाइ छ । २१९६३÷३६४ रजिष्ट्रर नम्बर रहेको अभिनवको ‘चक्का सुपर पावर’ र ७८५८५ रजिष्ट्रर नम्बर रहेको गोर्खाको ‘बजरंगी एक्स पावर’नामको चुना मिश्रित खैनी बजारमा छ ।
विभागले सूर्तिजन्य पदार्थमा प्रयोग गरिने स्टिकरको प्रकार तोक्दै निकासी गर्दा तिर्नुपर्ने प्रतिकिलोका दरले मूल्य निर्धारण गरेको छ । विभागले तोकेको राजस्व बुझाएर त्यसअनुसारको अन्तःशुल्क स्टिकर टाँस गर्दै उत्पादित खैनी बजारमा बिक्री वितरणका लागि लैजान सक्ने प्रावधान भएपनि कम दरको स्टिकर प्रयोग गर्दै राजस्व छली गरिरहेको पुष्टि भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले बजार अनुगमनका क्रममा खैनी उत्पादन र बिक्रीका नाममा दुवै उद्योगले धेरै मात्रामा राजस्व छली गरिरहेको फेला पारेको थियो ।
नियम अनुसार दुवै उद्योगले उत्पादन गरेको खैनी निकासी गर्न आन्तरिक राजस्व विभागबाट निर्धारण गरिएको ‘ग’ वर्गको रातो स्टिकर प्रयोग गर्नु पर्ने राजश्वका एक कर्मचारीले बताए । उनका अनुसार चुना मिश्रित तयारी खैनीमा प्रयोग गर्नुपर्ने स्टिकरमा‘गुट्खा, खैनी र पान मसला’ लेखिएको हुुन्छ।
तर चुना मिश्रित तयारी खैनी उत्पादन गर्दै आएका दुवै उद्योगले चुना मिसाएर खाने सूर्तिमा प्रयोग हुने ‘ख’ वर्गको स्टिकर लगाउने गरेको फेला परेको ती कर्मचारीले बताए । उनकाअनुसार चुना मिसाई खाने सूर्तिमा‘सूर्ति विविध’लेखिएको स्टिकर प्रयोग गरिन्छ ।
राजस्व कार्यालय विराटनगरका अनुसार ‘गुट्खा, खैनी र पान मसला’ लेखिएको स्टिकर प्रयोग गर्नु पर्नेमा दुवै खैनी उद्योगले ‘सूर्ति विविध’ लेखिएको स्टिकर प्रयोग गर्दै करोडौं राजस्व छली गरिरहेको पाइएको छ ।
प्रतिकिलो ‘गुट्खा, खैनी र पान मसला’ लेखिएको स्टिकरका लागि ६५० र ‘सूर्ति विविध’ लेखिएको स्टिकरलाई ३३५ रुपैयाँ राजस्व निर्धारण गरिएको छ । दुवै उद्योगले कम दरको वा चुना मिसाई खाने सूर्तिमा लगाउने स्टिकर प्रयोग गर्दै प्रतिकिलो ३१५ रुपैयाँका दरले राजस्व छली गरिरहेको कार्यालयले पत्ता लगाएको हो ।
यस सम्बन्धी प्रमाण अन्नपूर्णसँग पनि सुरक्षित छ । ४०० ग्रामको एक प्याकेट खैनी हुनु पर्ने मापदण्ड छ । ४०० ग्रामको एउटा प्याकेट तयार गर्दै दुवै उद्योगले पोको बनाएर ५० पोका ९२०किलोग्राम०को एक बोराका हिसाबले खैनी उत्पादन गर्दै आएको जानकारी विराटनगरका एक उद्योगीले दिए ।
नियमअनुसार उद्योगले एक बोरा९२० किलोग्राम०मा स्टिकर प्रयोग गर्न १३ हजार रुपैयाँ राजस्व तिर्नु पर्ने हुन्छ । तर कम दरको स्टिकर प्रयोग गर्दै प्रति बोरा ६ हजार ७०० रुपैयाँ मात्रै राजस्व तिर्ने गरेको पाइएको कार्यालयका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार एक बोरा खैनीमै ६ हजार ३०० रुपैयाँ राजस्व छली गर्ने गरेको पाइएको छ । यसरी राजस्व छली गरेको खैनी प्रदेश १ का सबै जसो बजारमा छ्यापछ्याप्ती भेटिने गरेको उनको भनाइ छ ।
अभिनव सूर्ति उद्योगले एक महिनामा चार हजार बोरा बढी खैनी उत्पादन गर्ने गरेको एक उद्योगीले बताए । यही अनुपातमा उत्पादन गरेर बजारमा पुर्याउँदा अभिनवले मासिक दुई करोड ५२ लाख रुपैयाँ भन्दाबढी राजस्व छली गरिरहेको देखिन्छ । गोर्खा टोवाको इण्डष्ट्रिज प्रालीले पनि त्यही अनुपातमा उत्पादन गर्दै मासिक राजस्व छली गरिरहेको स्रोतको भनाइ छ ।
विराटनगरका एक उद्योगीले राजस्व छलीका विषयमा सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराई सकिएको बताए । ‘खुल्लेआम रुपमा राजस्व छली भएको कुरामा कारबाही अघि नबढाइकन सबै चुपचाप बस्नुले शंका उब्जाएको छ,’ उनले भने, ‘राजस्व विभागकै मिलेमतोमा मासिक करोडौं राजस्व चुहावट भइरहेको हुन सक्छ ।’
‘राजस्व छली गर्ने क्रममा कम मूल्यको स्टिकर टाँसेर खैनी बजारमा ल्याएपछि बजार मूल्यमा पनि यसले असर गरेको छ । अरु भन्दा कम मूल्यमै ग्राहकलाई बिक्री गर्ने गरिएपछि प्राय सबैको ध्यान यही खैनीतिर तानिएको छ,’ प्रदेश १ का एक उद्योगीले भने । ‘जसका कारण हामी पूरै राजस्व तिर्नेहरु मारमा परेको छ।’ यस्तामाथि कारबाही नहुनु आश्चर्यको विषय भएको उनले बताए ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटाले खैनी उद्योगले तयारी खैनी उत्पादन गरे पनि चुना मिसाई खाने सूर्तिमा प्रयोग हुने कम दरको स्टिकर टाँसेर आफ्नो उत्पादन बजारमा ल्याउने गरेको पुष्टि भइसकेको बताए । यस विषयमा अरु उद्योगी व्यवसायीले पनि आफूसँग धेरै पटक गुनासो गरिसकेको उनको भनाइ छ ।
‘उद्योगी व्यवसायीको गुनासोसँगै गरिएको अनुगमनबाट पुष्टि भएपछि ठूलो मात्रामा भइरहेको राजस्व छलीको विषयमा राजस्व विभागलाई ‘लकडाउन’ अघिदेखि नै जानकारी गराउने काम भइरहेको छ,’ सापकोटाले भने ।
राजस्व विभाग अन्तशुल्क महाशाखाका निर्देशक सालिग्राम आचार्यले यस विषयमा विभागमा कुरा उठिसकेको जानकारी दिए । ‘यसरी राजस्व छली भइरहे पनि विभाग आफंैले कारबाही गर्दैन । सम्बन्धित राजस्व कार्यालयलाई कारबाही अघि बढाउन निर्देशन दिने गरेको छ,’ उनले भने, ‘ठूलै राजस्व छली भइरहेको कुरा आएकाले कारबाहीको प्रक्रिया अघि बढेको हुनु पर्छ । कुरा सबैतिर उठिसकेकाले छनबिन गर्ने काम भइरहेको होला ।’ आचार्यले कारबाही अघि बढाउने क्रममा उद्योगमा छापा हान्दा राजस्व छली गरेको प्रमाण फेला परेन भने पनि बजारमा भेटिएको सामानका आधारमा समेत कारबाही अघि बढाउन सकिने बताए ।
FACEBOOK COMMENTS