काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत् ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उनले लगानीमैत्री वातावरण निर्माण गर्नेक्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक–निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानुनलाई पूर्णता दिइएको बताए ।
उनले नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको उल्लेख गर्दै राजनीतिक वातावरण सहज बनेको, लगानीमैत्री ऐन, नियम तथा नियमावली बनाइएको, मेहनती युवा जनशक्ति र सस्तो श्रमशक्ति उपलब्ध भएकाले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने प्रस्ट पारे ।
लगानीकर्तालाई सहजीकरणका लागि एकल विन्दु सेवा केन्द्र स्थापना गरिएको, नीतिगत तथा प्रक्रियागत सहजीकरण गरिएको जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले २०० मेगावाटमाथिका आयोजना र रु ६ अर्बमाथिका परियोजनालाई सहजैरुपमा लगानी गर्नसक्ने अवस्था सिर्जना गरिएको तथ्य पेस गरे ।
उनले अन्तरदेशीय प्रसारणलाइन निर्माण गरी नेपालमा उत्पादित बिजुली क्षेत्रीय बजारमा लैजानसक्ने वातावरण निर्माण भएको, नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए ।
लगानीकर्ताका लागि सहजीकरण गर्दै अनलाइनबाटै कम्पनी दर्ता गर्ने र राजस्व भुक्तानी गर्ने व्यवस्था गरिएको भन्दै उनले सबै प्रकारका सेवा सहजरुपमा दिइनेसमेत स्पस्ट पारे ।
FACEBOOK COMMENTS