काठमाण्डौँ — तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको सरकारी परीक्षणले देखाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले पाँच वर्षयता परीक्षण गरिएका तरकारीबारे तयार पारेको प्रतिवेदनअनुसार विषादीको प्रयोग क्रमशः घट्दो छ ।
प्रतिवेदनअनुसार २०७१ असार महिनामा १ सय ८७ तरकारीको परीक्षण गर्दा ३२ वटामा विषादी भेटिएको थियो ।
यो वर्ष ७ सय ७५ परीक्षणमा दुई वटामा विषादी भेटिएको छ ।
गत वर्ष १ हजार ८ सय ५० परीक्षणमा ४ वटामा मात्रै विषादी भेटिएको थियो ।
यही तथ्यांकका आधारमा अहिले क्रमशः विषादी घटदै गएको उल्लेख छ ।
विषादीले उपभोक्ताभन्दा किसानलाई बढी असर पार्ने हुँदा उनीहरू सचेत भएको प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले बताए ।
यस्तै बजेट अभावले तरकारी परीक्षण कार्य प्रभावित हुँदै आएको छ ।
हाल तरकारी परीक्षण केन्द्र कालीमाटी, बिर्तामोड, सर्लाही, पोखरा, बुटवल, नेपालगन्ज, कैलालीमा छन् ।
तीमध्ये कालीमाटी, बिर्तामोड र कैलाली फाटफुट रूपमा परीक्षण भइरहेको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS