काठमाडौं– मारुती सिमेन्ट उद्योगले २ अर्ब ५० करोड लगानी थपेर उत्पादन क्षमता दोब्बर पार्ने भएको छ।
उद्योग विभागमा साढे दुर्इ अर्ब रुपैयाँ लगानी थपेर उत्पादन क्षमता ३ हजार ६ सय टन पुर्याउने प्रस्ताव पेश गरेको छ।
अहिले यो उद्योगबाट दैनिक १८ सय टन सिमेन्ट उत्पादन हुँदै आएको छ।
१२ वर्षअघि क्लिंकर उत्पादनबाट सुरु भएको यो उद्योगले मारुती ओपिसी ब्राण्डमा ९ वर्षअघिदेखि सिमेन्ट उत्पादन थालेको हो।
क्लिंकरमा आधारित निजी क्षेत्रको ठूलो सिमेन्ट उद्योग भएपनि क्षमता विस्तार गर्न नसकेर मारुती सिमेन्ट संकुचनमा बसेको थियो।
विराटनगरका उद्योगी नन्दकिशोर राठी, सुनिल खेम्का र दिनवन्धु गोयलले यो उद्योग स्थापना गरेका थिए। क्लिंकरमा आधारित उद्योगमा स्थानीयको हस्तक्षेप र लगानीकर्ताले एग्रेसिभ प्लान बनाउन नसक्दा मारुती सिमेन्टले क्षमता विस्तार गर्न सकेको थिएन।
उद्योगले थपिएको प्लान्टबाट ६ लाख ६० हजार मेट्रिक टन अर्थात दैनिक एक हजार ८०० टन ओपीसी सिमेन्ट र १३ हजार २०० टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य लिएको छ। पाँच सय जनालाई रोजगारी दिइरहेको उद्योगले थप ५८७ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिवद्धता गरेको छ।
FACEBOOK COMMENTS