काठमाडौं, १८ मंसिर – वीरगञ्ज भन्सार कार्यालयले आयातकर्ताले घोषणा गरेको मूल्यभन्दा दोब्बर खरिद मूल्य कायम गर्दै रेन्जरोभर हाइब्रिड कारको भन्सार जाँचपास गर्ने तयारी गरेको छ। आयातकर्ता मनकामना इन्जिनियरिङले घोषणा गरेको ४९ हजार ५ सय अमेरिकी डलरभन्दा दोब्बर अर्थात् ९८ हजार अमेरिकी डलर मूल्य कायम गर्दै कार जाँचपास गर्न लागेको हो।
दुई साताअघि वीरगञ्ज आइपुगेको रेन्जरोभरको हाइब्रिड कार वास्तविक मूल्यभन्दा निकै कमको खरिद बिल देखाएर आयात गर्न लागेको आशंकामा भन्सार कार्यालयले जाँचपास रोकेर अनुसन्धान अघि बढाएको थियो। ‘यस्ता कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा कति छ र खरिदकर्ताले कति रूपैयाँसम्ममा खरिद गर्न सक्छ भनेर अनुसन्धान गर्दा निकै कममा किनेको भेटिएको छ,’ भन्सार स्रोतले भन्यो।
राजस्व छल्ने उद्देश्यले सस्तो खरिद बिल देखाएर सवारी साधन आयात गर्न खोजिएको भए पनि भन्सार कार्यालयले कडाइका साथ चेकजाँच गर्दा जरिवानासमेत तिर्नुपर्ने अवस्थामा मनकामना इन्जिनियरिङ पुगेको छ। अब उसले भन्सारले कायम गरेको मूल्यमा कर तिर्नुका साथै अतिरिक्त जरिवानासमेत तिर्नुपर्छ।
यो कार रेन्जरोभरको आधिकारिक आयातकर्ता विना नै नेपाल भित्रिने भएकाले सुरुमै भन्सारले कायम गर्ने मूल्यको ३० प्रतिशत जरिवाना तिर्नुपर्छ। त्यसका अतिरिक्त गलत मूल्यांकन गरेका कारण घोषित मूल्य र कायम भएको मूल्यको अन्तर अर्थात् ४८ हजार ५ सय अमेरिकी डलरमा ४० प्रतिशत जरिवाना पनि मनकामना इन्जिनियरिङले तिर्नुपर्छ।
जरिवानापछिको मूल्यमा ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत दस्तुर लाग्छ। यी सबै जोड्दा कारका आयातका लागि कम्पनीले गरेको अन्य खर्च र नाफाबाहेक नै मूल्य करिब ५ करोड रूपैयाँ पुग्छ।
सरकारले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि गत चैतदेखि गरेको लकडाउनपछि विदेशी मुद्रा सञ्चितीको अवस्था नबिग्रियोस् भनेर ५० हजार अमेरिकी डलरभन्दा बढीका निजी कार आयात गर्न नपाइने निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कायम रहेकाले व्यवसायीले अन्डर इनभ्वाइसको बाटो अपनाएका हुन्।
मनकामना इन्जिनियरिङ व्यवसायी श्रवण गोयलको कम्पनी हो। भन्सारले गाडी रोकेपछि गोयल बुधबार वीरगञ्ज पुगेका थिए। भन्सार अधिकृतले अनुसन्धान भइरहेको भन्ने जवाफ दिएपछि उनी त्यहाँबाट बाहिरिएको स्रोतको भनाइ छ।
FACEBOOK COMMENTS