काठमाडौं, ३ मंसिर – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले यस्तो विचार अघि सारेका हुन् ।
उनले अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रूपमा रहने सम्भावना रहेको बताउँदै यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणका योजना बन्न सक्नेमा चिन्ता व्यक्त गरे । महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आइएसआईले अफगानिस्तानलाई आफ्नो केन्द्रका रूपमा उभ्याउन सक्ने खतरा रहेको बताए । उनीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नेटो गठबन्धनले अफगानिस्तानको शान्तिप्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रूपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौँ ।’
अफगानिस्तानमा तैनाथ सैनिकको संख्याबारे निरन्तर समीक्षा भइरहेको उनले बताए । उनले भने, ‘अहिले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैरअमेरिकी सैनिक छन् ।’ अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या निरन्तर कटौती गरिए पनि नेटोले अफगान सैनिकलाई तालिम, परामर्श र सहायतालाई निरन्तरता दिने स्पष्ट गरिसकेको छ । उनले भने, ‘हामी अफगान सैनिकलाई सन् २०२४ सम्म मद्दत गर्नेछौँ ।’
FACEBOOK COMMENTS