जमुना भण्डारी
काठमाडौं, पुस ३ – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपनि नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) भने घटेको देखिएको छ ।
राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह लगातार तेस्रो महीना पनि घटेको छ । तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिना (साउन–कात्तिक) सम्ममा ३ खर्ब ४ अर्ब ९७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.३ प्रतिशतले कमी हो ।गत आवको सोही अवधिमा रू ३ खर्ब १२ अर्ब २६ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको थियो ।
रेमिट्यान्स घटेको भएतापनि यस अवधिमा विदेश जाने नेपालीको संख्या भने बढेको छ। पछिल्लो ४ महिनामा अघिल्लो वर्षको तुलनामा अन्तिम श्रम स्वीकृती लिनेको संख्या ५.६ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३९.४ प्रतिशतले घटेको थियो। त्यसै गरी पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यो वर्ष ९.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो सङ्ख्या १०.३ प्रतिशतले घटेको थियो।
वैदेशिक व्यापारमा सुधार
आर्थिक वर्षको पहिलो ४ महिनाको नेपालको समग्र वैदेशिक व्यापारमा पनि केही सुधार देखिएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक तथ्यांक अनुसार नेपालको आर्थिक परिदृष्य सकारात्मकतर्फ उन्मुख भएको देखिन्छ । यस अवधिमा मुलुकको आयात ७ प्रतिशतले घटेको छ भने निर्यात २३. ९ प्रतिशतले बढेको छ । गत बर्ष सोही अवधिमा आयात ३५.८ प्रतिशतले बढेर रू ४ खर्ब ८३ अर्ब पुगेको थियो ।
चार महिनामा ४ खर्ब ५० अर्ब ३० करोडको बस्तु आयात हुँदा कुल ३६ अर्ब २८ करोडको बस्तु निर्यात भएको छ। आयात घटेर निर्यात बढ्दै जाँदा व्यापार घाटा पनि घट्दै गएको छ। यस अवधिमा व्यापार घाटा ८.९ प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब २ करोडमा झरेको छ।
यो समयमा एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाइजहाज तथा पार्टपुर्जा र सिमेन्टको आयात घटेको देखाएको छ भने कच्चा पाम तेलको आयात बढेको छ । त्यस्तै अन्य मेशिनरी तथा पार्टपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानहरुको आयात बढेको छ ।
त्यसै गरी पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
FACEBOOK COMMENTS