काठमाडौं, साउन २० – भाद्र कृष्ण प्रतिपदाका दिन मङ्गलबार नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ ।
सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ । विगतमा बालकको सहभागिता अधिक हुने गरे पनि यस वर्ष बालकलाई सहभागी गराउन समस्या भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले आफ्नै टोल छरछिमेकमा पर्व मनाउँदै संस्कृति संरक्षण गर्न आग्रह गरेको जानकारी दिए । उहाँले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले होशियारीपूर्वक पर्व मनाउन आग्रह गरिएको बताए ।
काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक पाइन्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।
व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै ०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको शताब्दी पुरुष सत्यमोहन जोशी सम्झन्छन् ।
जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्कीलगायत जिल्लाका शहरमा पनि मनाइन्छ ।
गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ ।
FACEBOOK COMMENTS