सरकारले सिमेन्ट उद्योगलाई देशको प्रमुख निर्यातजन्य उद्योग बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिमेन्टलाइ निर्यातयोग्य वस्तु बनाउने उल्लेख गरेको छ । महंगो बिद्युत महशुल, आयातित कोइला र ढुवानीको लागत महंगो हुँदा नेपालको सिमेन्ट महंगो रहेको सिमेन्ट उद्योग संघका अध्यक्ष धुब्र थापा बताउँछन् । हाल नेपालमा करिब १ सय १३ सिमेन्ट उद्योगहरु दर्ता छन् भने ६१ ओटा सञ्चालनमा रहेका छन् । संघका अध्यक्ष धुब्र थापासँग सिमेन्ट उद्योगको वास्तिविक अवस्था, अन्तराष्ट्रिय स्ट्यान्डर्ड, निर्यातको सम्भापवना, सिमेन्ट उद्योगमा वैदेशिक लगानी आवश्यकतालगयातका विषयमा बसन्त अर्यालले गरेको कुराकानीः
नेपालमा सिमेन्ट उद्योग फस्टाएको देखिन्छ । वास्तविक अवस्था कस्तो छ ?
हामी सबैको लागि खुसीको कुरा के हो भने नेपाल धेरै आयातित वस्तुमा निर्भर हुँदाहुँदै पनि सिमेन्टमा आत्मनिर्भर छ । सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ किलिङ्करमा पनि आत्मनिर्भर भएका छौं । अब भारतबाट आउने सिमेन्ट र किलिङ्कर बन्द भयो । त्यसैले सबैले नेपाली सिमेन्ट उद्योग फस्टाइरहेको देख्नुहुन्छ । १५ वर्ष अघिसम्म ८५ प्रतिशत सिमेन्ट आयत हुन्थ्यो । सिमेन्टमा निजी क्षेत्रको प्रवेश पछि यो अवधिमा आत्मनिर्भर भयौं । १५ वर्ष अघि हेटौडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग स्थापना पछि पनि नेपालमा ८०–८५ प्रतिशत सिमेन्ट आयात हुन्थ्यो । अझ त्यो बेला नेपालमा सिमेन्टको बजार सानो थियो । अहिले बजार पनि वृद्धी भएको अवस्थामा हामी पूर्ण रुपमा अत्मनिर्भर भएका छौ । यसो भन्दैगर्दा विभिन्न कारणले केही बोरा सिमेन्ट आयत हुन्छ । खुला सिमा क्षेत्र, विदेशी आयोजनाहरुले भन्सार छुट पाउँदा पनि केही आयात भइरहेको छ । त्यो पनि विस्तारै हट्दैछ ।
नेपालमा सिमेन्टको खपत कति छ ?
नेपालमा दर्ता भएर उत्पादन गरिरहेका उद्योग ६१ ओटा रहेका छन् । ती उद्योगको क्षमता करिब १५ मिलियन टन उत्पादन गर्नेछ । तर गतवर्ष ९ मिलियन टन उत्पादन भएको छ । अब हामी आत्मनिर्भर मात्र होइन अर्को वर्षदेखि ३० प्रतिशत सिमेन्ट आवश्यक भन्दा बढी उत्पादन हुन्छ । त्यो उत्पादनलाई के गर्ने भन्नेमा हामी चिन्तित छौं । कि हामीले कम क्षमतामा चलाउनु पर्छ । यो भनेको फेरि घाटा जानु हो । कि त हामीले निर्यात गर्न सक्नुप¥यो, होइन भने हामीले बढी खपत गर्न सक्नुपर्छ । सरकारको विकासको बजेट राम्रोसँ खर्च हुनुपर्छ ।
हाम्रो सिमेन्टको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ ?
आफ्नै चुन ढुङ्गाबाट नेपालमा सिमेन्ट उत्पादन भइरहेको छ । हाम्रो चुन ढुङ्गाको गुणस्तर पनि राम्रो छ । कुनै कुनैमा थोरै फरक पर्छ, नभए राम्रै छ । अर्को नेपालका कुनै पनि सिमेन्ट उद्योगले नेपाल गुणस्तर चिह्न प्राप्त नगरी बजारमा सिमेन्ट बित्री गर्न पाइँदैन । नेपाल सरकारको मापदण्ड अनुसार उत्पादित सिमेन्ट गुणस्तर छैन भन्नु कुनै तुक हुँदैन । अझ पीपीसी सिमेन्ट, पीएसी सिमेन्टमा भारतिय गुणस्तर भन्दा हाम्रो गुणस्तर राम्रो छ । उदाहरणको लागि भारतमा ३५ प्रतिशतसम्म फ्लाइ एस प्रयोग गर्न पाइन्छ तर नेपालमा २५ प्रतिशत मात्रै पाइन्छ । हाम्रा मापदण्ड अझ कडा छन् । त्यसैले गुणस्तरमा कुनै संख्या गर्नु पर्ने विषय नै छैन । अहिले नेपालका सबै ठुला आयोजनामा नेपाली सिमेन्ट प्रयोग भैरहेको छ ।
अर्को केहो भने ठूला आयोजनाले गुणस्तर चिह्न हेरेर मात्र प्रयोग गर्दैनन् । आफुले चाहेको मापदण्ड पुगेको छ कि छैन, कम्पोनेन्ट के को चाहिने हो , स्टेन्थ कस्तो छ भन्ने हेरेरमात्र ठूला कम्पनीले सिमेन्ट प्रयोग गर्छन् । साना आयोजना र निजी निवासको लागि नेपाल गुणस्तर चिह्न प्राप्त गरेको भए पुग्छ । अहिले अनुगमन यति तिब्र छ कि निम्न गुणस्तरको सिमेन्ट बजारमा लगेर बेच्ने अवस्था पनि छैन ।
नेपाली सिमेन्टको गुणस्तर छैन भनेर कतै हावा फैलाउनुको कारण हाम्रो ओपिसि सिमेन्टमा ग्रेडिङ सिस्टम छैन । ग्रेडिङ सिस्टम नभएका कारणले कतिपय विदेशी आयोजनाले आफ्नो मापदण्ड बनाउँदा यति ग्रेडको सिमेन्ट प्रयोग गर्ने भनेर तोकेको हुन्छ । निर्माण स्थलमा काम गर्ने मान्छेले त्यो सिस्टम परिवर्तन गर्न पनि सक्दैन । हाम्रोमा त्यो ग्रेडको सिमेन्ट पनि हुन्छ तर गुणस्तर विभागले त्यो मापदण्ड लेख्न दिँदैन । कानुनी प्रावधान नभएकाले कुनै ठाउँमा हामीलाई सिमेन्ट बिक्री गर्न गाह्रो पनि भएको छ । हामीले गुणस्तर विभागलाई निरन्तर घचघचाइ रहेका छौ । फेरि ग्रेडिङ नभएकाले हाम्रो सिमेन्ट गुणस्तर छैन भनेको होइन कि हामीले ग्रेडिङ भनेर लेख्न पाएनौं। गुणस्तर विभागले ग्रेडिङ सिस्टम लागु गरेपछि यो एउटा समस्या पनि हट्छ ।
सिमेन्टमा हामी आत्मनिर्भर पनि भयांै । ठूला आयोजनामा हाम्रो सिमेन्ट प्रयोग हुँदैछ । सिमेन्ट उद्योगमा विदेशी लगानी पनि आउँदैछ । अब उत्पादन पनि बृद्धि हुन्छ । यस्तो अवस्थामा हाम्रा उद्योग विदेशमा सिमेन्ट निर्यात गर्न सक्षम छन् ?
अहिले निर्यात गर्न सम्भव भएको भनेको भारतको सिमावर्ती बजार हो । भारतमा पठाउनको लागि जसरी नेपालमा गुणस्तर चिह्न लिनु पर्छ भारतमा पठाउँदा पनि इन्डियन गुणस्तर लिनु पर्छ । नेपालभित्र कुनै भारतीय सिमेन्ट आयत भएको छ भने पनि नेपाल गुणस्तर चिह्न बिना नेपाल ल्याउन पाइँदैन । भारतको गुणस्तर चिह्न लिन पनि हाम्रा सिमेन्ट उद्योग सक्षम छन्् । पहिला पनि केही व्यवसायीहरुले भारतको गुणस्तर चिह्न ल्याउनु भएको थियो । अहिले पनि नेपाली जस्तापाता भारतमा निर्यात भइरहेको छ । त्यस्तै हामी सिमेन्ट उद्योगले पनि आफ्ने पहलमा भारतमा निर्यात गर्न सक्छांै । नेपाल सरकारले भारत सरकारसँग सिमेन्ट निर्यातको लागि सझौता ग¥यो भने हामीलाई अझ सहज हुन्छ । हामी सबै हिसाबले निर्यात गर्ने क्षमता छ तर हाम्रो उत्पादन लागत धेरै हुँदा तत्काल भारतमा निकासी गर्न सक्ने अवस्था छैन ।
उद्योगले कच्चा पदार्थ, जनशक्ति खासै आयत गर्नु पर्दैन तर कसरी लागत बढी भयो ?
सिमेन्ट उद्योगमा सबै भन्दा लागत उठाउने भनेको ढुवानी खर्च हो । कच्चा पदार्थ ल्याउन, उत्पादित वस्तु लैजान ढुवानी खर्च अत्याधिक छ । नेपालमा कोइला पाइदैन भारत वा बाहिरबाटै ल्याउनु पर्छ यसले गर्दा ढुवानीमा धेरै पैसा जान्छ । नेपाल र भारतको तुलना गर्दा नेपालमा कोइला पाइँदैन, खानीबाट चुनढुङ्गा ल्याउँदा ट्रकबाहेक अरु साधन छैन यस्तै कारणले गर्दा हाम्रो लागत महंगो छ । संघीयता कार्यन्वनमा आएपछि तह पिच्छे कर उठाउँदा लागतमा झन वृद्धि भएको छ । यो मात्र नभइ जति पनि हामीले सरकारी निकायसँग काम गर्नुु पर्छ । सबैले नाफा मुलक संस्थाको रुपमा काम गरिरहेका छन् । कर भनेको राज्यले एक ठाउँबाट उठाउने हो, हरेक निकायले कर उठाउने होइन । सरकारले जति कर लगाउँछ त्यो त उपभोक्तामा जान्छ । यो भनेको उत्पादन लागत बढाउनु हो । यसले गर्दा हामी भारतको बजारमा निर्यात गर्ने सक्दैनौ । हाम्रो सिमेन्टको मूल्य महंगो पर्न जान्छ । सिमेन्ट उद्योगको विद्युत महशुलले पनि लागतको कति हुने निर्धारण गर्छ । सिमेन्ट उद्योगमा धेरै विद्युत खपत हुन्छ । सरकारले भारतलाई जतिमा विद्युत दिन्छ, हामीलाई पनि त्यति नै मुल्यमा दिनुप¥यो तब न हामी भारतसँग प्रतिस्पर्धा गर्न सक्छौं ।
कति रुपैयाँ घट्यो भने हामी भारतिय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्छौं ?
अहिलेको अवस्थामा प्रतिबोरा ५० देखि ७० रुपैयाँ घट्नु पर्छ । नेपालमा भारतिय सिमेन्ट महंगो छ । किनकी भन्सार तिरेर आउँदा महंगो भएको हो ।
सिमेन्ट उद्योगमा विदेशी लगानीकर्ता आकर्षित छन् । यसले नेपाली सिमेन्ट उद्योगलाई असर गर्छ कि फाईदा ?
अहिलेसम्म बाह्य लगानी जति आए ठिक छ । अबको दिनमा सिमेन्ट उद्योगमा बाहिरको लगानी आवश्यक छैन । किनकी हामी आत्मनिर्भर भइसक्यौं । सरकारले स्वदेशी उद्योगलाई नै प्रबद्र्धन गर्नुपर्छ । नेपाली उद्योगीले नै आफ्नो क्षमता बढाउन सक्षम छन् । सरकारले प्राथमिकताको क्षेत्र तोकेर कुन क्षेत्रमा बाह्य लगानी ल्याउने हो निश्चित गर्नुपर्छ । सबै क्षेत्रमा बाह्य लगानी आवश्यक छैन । जथाभावि बाह्य लगानी ल्याउने हो भने सबै उद्योग धरासायी हुन्छन् । स्पष्टका साथ भन्नु पर्दा सिमेन्ट उद्योगमा बाह्य लगानीलाई प्रोत्साहन गर्नु हुँदैन । नेपालमा आवश्यक पनि छैन । नेपालमा जुन क्षेत्र आत्मनिर्भर भएको छ त्यो क्षेत्रमा बाह्य लगानी ल्याउन निरुत्साहित गर्नुपर्छ ।
उत्पादन लागत र प्रदुषण न्युनिकरणमा प्रविधीले ठुलो मद्दत गर्छ । नेपाली सिमेन्ट उद्योगले नयाँ प्रविधी ग्रहण गरेका छन् त ?
अहिले नेपालमा उत्पादित सिमेन्ट विश्वमा विकास भएका एक नम्बरको प्रविधी प्रयोग भइरहेको छ । युरोपमा जुन प्रविधीबाट सिमेन्ट उत्पादन हुन्छ, नेपालमा पनि त्यही प्रविधीबाट नै उत्पादन हुन्छ । कसैलाई लाग्न सक्छ, सिमेन्ट उद्योग भनेको धुलोधुवाँले भरिएको हुन्छ । त्यस्तो होइन, अहिले सबै उद्योगमा कम्पुटराइज प्रविधीमार्फत् उत्पादन हुन्छ । सबै उद्योगले पोलुसन कन्ट्रोल इक्युप्मेन्ट राखेका छन् ।
अन्त्यमा, सरकारको नीति तथा कार्यक्रमा सिमेन्टलाई निर्यातको वस्तुका रुपमा उल्लेख गरेको छ । तपाईंहरुको प्रतिक्रिया के छ ?
हो । सरकारले जसरी नीति तथा कार्यक्रमा घोषणा ग¥यो । यसल हामीलाई अत्यन्तै उत्साहित बनाएको छ । सरकारले उद्योगका समस्या पूर्ण समाधान गरी निर्यातमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ भन्नेमा विश्वास्त छु ।
FACEBOOK COMMENTS