काठमाडौँ, असोज ३ – कोरोनाको महामारी अहिले जताततै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँको संख्यामा मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।
यसैबीच कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि इजरायलमा दोश्रो पटक लकडाउन शुरु भएको छ ।
मानिसहरलाई आ-आफ्नो घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरिएको छ । शुक्रवारबाट लागू भएको यो लकडाउन तीन हप्तासम्म हुनेछ ।
इजरायलमा अहिलेसम्म कोरोनाका कारण १ हजार १९६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार ७१ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ३० हजार २४ जना संक्रमण मुक्त हुँदा ४७ हजार ८५१ जना उपचाररत छन् ।
FACEBOOK COMMENTS