काठमाडौं, फागुन १- काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो।
बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो। विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो।
अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रीकालिन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिनुभयो। उहाँले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘महानगरपालिकाले यसअघि नै नमुनाका रूपमा टुँडिखेलवरिपरि ‘पिक एन्ड ड्रप’ शुरु गरिसकेको छ। शुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको छ,’ शाक्यले भन्नुभयो– ‘सार्वजनिक यातायातले यात्रु पर्खिने होइन, यात्रुले चाहिँ सार्वजनिक यातायात पर्खिने वातावरण निर्माण गर्दै यात्रुहरुको सहजतालाई पनि ध्यान दिएर हामीले रात्रिकालिन सेवा शुरु गर्न लागेका हौँ।’आजको नेपाल समाचारपत्रमा समाचार छ ।
FACEBOOK COMMENTS