काठमाडौं, कात्तिक २३ – काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ अनुदान दिने भएको छ ।आर्थिक सहयोगका लागि चिकित्सालय र महानगरबीच शनिबार एक कार्यक्रमबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा महानगरको सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गरेका छन् र कार्यक्रममा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताए ।
उनले भने, ‘कोर–सिटीका करिब तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ जनस्तरमा खुलेको र जनताकै सेवामा समर्पित चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको जनाउँदै थप आर्थिक सहयोगका लागि काठमाडौं महानगरपालिका तयार भएको उनले बताए ।
२५ शय्याको चिकित्सालयले कोभिड–१९ को संक्रमण भयावह भइरहेका वेला पनि नागरिकको घरदैलोमा नै पुगेर सेवा प्रदान गरिरहेको बताउँदै डा. श्रेष्ठले भने, ‘हामी चिकित्सालयलाई समयानुकुल विस्तार गर्दै र अत्याधुनिक सेवा प्रवाह गर्दै जाने चरणमा छौँ । यस्तो वेलामा महानगरपालिकाले गरेको यो सहयोग अतुलनीय छ ।’ ०१३ मा स्थापना भएको चिकित्सालयले निःशुल्क सेवा प्रदान गर्दै आएको छ । यसले मुटु, श्वासप्रश्वास, दन्त सेवालगायत विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS