काठमाडौं, माघ १८ – दाङको तुलसीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बाट कार्यक्रम सुरु भएको हो । कार्यक्रमको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका १३ र १४ अकमी जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । वडा १३ वाट एक सय २५ जनाको नाम सूचीकृत भए पनि पहिलो दिन ८६ जना काममा आएका छन् । अहिले आठ मिटर रहेको उक्त सडकलाई १२ मिटर बनाउने गरी काम भइरहेको छ । सोही सडक रोल्पाबाट बिजौरी हुँदै सिमलसोता जोड्ने सडक हो । जुन सडक राजमार्ग जोड्ने दाङको वैकल्पिक मार्गका रुपमा लिइएको छ ।
योसँगै अब तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा यो कार्यक्रम सुरु हुने उपमहानगरपालिका प्रमुख पाण्डेले बताए । उनका अनुसार यस आव ०७७/७८ मा तुलसीपुरबाट ५०४ जनाले रोजगारी पाउने भएका छन् । उनीहरुलाई एक सय दिनको रोजगार प्रदान गर्न लागिएको प्रमुख पाण्डेले बताए ।
“यस वर्ष तुलसीपुरमा करिब २२ सयले रोजगारका लागि फाराम भर्नुभएको थियो,” उनले भने, “तीमध्ये न्यून आय भएका, अत्यन्त गरिब परिवार छनोट गरेर पाँच सय चारजना छनोट गरिएको छ ।”उनीहरुलाई एक सय दिन रोजगार प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका रोजगार संयोजक किरण गौतमले बताए । उनका अनुसार यसपटक उनीहरुको पारिश्रमिक सीधै बैंक खातामा राखिने भएको छ । यस वर्ष संघीय सरकारबाट प्रधानमन्त्री रोजगारका लागि तुलसीपुरमा दुई करोड ५२ लाख रुपैयाँ आएको छ ।
FACEBOOK COMMENTS