काठमाण्डौँ — नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ।
निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।
निगमले दुई वाइबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो।
यसमा सरकार जमानी बसेको छ।
निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख रुपैयाँका साथै अर्का दुई न्यारोबडीको पनि ३३ करोड नौ लाख रुपैयाँ किस्ता तिर्नुपर्नेछ।

निगमले न्यारोबडीको सबै किस्ता भने बुझाएको छ।
यस्तै निगमले आफूले किस्ता तिर्न नसकेपछि सरकारलाई गुहार्ने पक्षमा छ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार निगमले आफ्नो आम्दानीबाट तिर्न सक्ने किस्ता तिरिसकेको छ।

— नागरीक