काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सेयर खरिद गरेका छन ।
जनताको जलविद्युतमा सेयर अन्तर्गत त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरे पछि प्रम ओलीले पहिलो सेयर खरिद आवेदन गरेको हो ।
प्रम ओलीसँगै उर्जामन्त्री वर्षामान पुनले पनि सेयर खरिद गरेका छन । प्रम ओलीले १० हजार कित्ता र उर्जा मन्त्री पुनले १ हजार कित्ता सेयर आवेदन गरेका छन ।
कम्पनीले आजै जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ ।
न्यूनतम १०० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने उक्त सेयरको निष्कासन छिटोमा चैत १२ र ढिलोमा बैशाख ६ गते बन्द हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
त्रिशूलीमा नेपाल विद्युत प्राधिकरणको ३० र नेपाल टेलिकमको ३० गरी ६० प्रतिशत संस्थापक स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । ४० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने उक्त कम्पनीको निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS