काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुक लगायत सामाजिक सञ्जालमा फैलिरहेका कोरोना सम्बन्धी झुटा सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताएका छन् । उनले झुटा सूचना नियन्त्रण गर्न फेसबुक असफल भएको पनि बताएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाब बढाउँदै गएको छ । यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अरु सामाजिक सञ्जालहरुले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताएका थिए ।
राष्ट्रपति बाइडेनले पनि त्यही कुरा जोड्दै अहिले खोप नलगाएका ठाउँहरुमा महामारी बढ्दै गएको र मानिसमा खोपप्रतिको विश्वास कम हुनुमा फेसबुक लगायत सामाजिक सञ्जालमा आउने मिथ्या सूचना रहेको उनको भनाइ छ ।
आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ । अमेरिकामा खोप लगाउन योग्य कयौँ व्यक्तिहरूले आफूहरूलाई खोपमा विश्वास नभएको बताइरहेका छन् ।
गएको महिना एउटा प्रतिवेदनले फेसबुक, ट्विटर, युट्युब र इन्स्टाग्राममा खोपविरोधी अभियानकर्ताहरूलाई पछ्याउनेको संख्या पाँच करोड ९० लाख नाघेको उल्लेख गरेको थियो ।
FACEBOOK COMMENTS