काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनालाई ४–२ गोलले पराजित गरेको छ ।
मंगलबार राति पेरिसस्थित पार्क दे प्रिन्सेसमा भएको खेलमा पिएसजीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।
पिएसजीको जितमा डिजिरे डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले एक–एक गोल गरे। बार्सिलोनाका जाभी एस्पार्ट र लामिन यामालले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलको ३८औँ मिनेटमा डुएले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर ५५औँ मिनेटमा एस्पार्टले गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ७२औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । ७९औँ मिनेटमा यामालले गोल गरेपछि बार्सिलोनाले फेरि २–२ को बराबरी गरेको थियो ।
तर बराबरी भएको दुई मिनेटपछि नै भिटिन्हाले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए । खेलको ८६औँ मिनेटमा रुइजले अर्को गोल थपेपछि पिएसजीले ४–२ को जित पक्का गर्यो । यस जितसँगै पिएसजीले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ। नौ अंक जोडेको पिएसजी गोलअन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा पुगेको छ । यस सिजन सबै प्रतियोगितामा अपराजित रहेको बार्सिलोनाले भने पहिलो हार बेहोरेको छ ।
