दोलखा, वैशाख २५ – जिल्ला प्रशासन कार्यालय दोलखाले भोलि आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाउने भएको छ । शनिबार मध्याह्न १२ः१५ बजेदेखि १ः३० बजेसम्म भीमसेनको शिलामा पसिना आएको थियो । यसरी शिलामा पसिना आउँदा देश र जनतालाई अनिष्ठ हुने जनविश्वास रहँदै आएको छ ।
उक्त अनिष्ठ टार्न थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालय दोलखाको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्याउने चलन छ । राजाको पालामा पसिना आउँदा महाप्रसाद राजदरबार पठाइने गरिएको भए पनि हाल राष्ट्रप्रमुख रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने गरिएको छ ।
पसिना आएलगत्तै प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरूले पूजापाठ गरेका थिए । भीमेश्वरको शिलामा पसिना आएको पुष्टि गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्ति अनुसार प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूले पनि भीमेश्वर मन्दिरमा पुगेर पूजाआजा गरेका थिए ।
साथै अधिकारीहरूले मन्दिरको पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग बैठक समेत गरेका छन् । बैठकले राष्ट्र प्रमुखसमक्ष दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाउने पुरानै परम्परा अनुसार भोलि आइतबार प्रसाद पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS