काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छन्
राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने चासो व्यक्त गरेपछि सोहीअनुसार तयारी थालिएको संसद सचिवालयले जानकारी दिएको छ। राष्ट्रपतिले सोमबार या मंगलबार सम्बोधन गर्ने गरी तयारी थालिएको हो।
बिहीबार राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुरु हुनु अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराए।
राष्ट्रिय सभामा सम्बोधनका लागि राष्ट्रपतिले चासो देखाएकाले त्यसको तयारी थालिएको अध्यक्ष तिमिल्सिनाले बैठकमा जानकारी गराए। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नसक्ने व्यवस्था गरिएको छ।
संघीय संसदको तल्लो सदन (प्रतिनिध सभा) भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यराति विघटन गरेकी थिइन्। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।
FACEBOOK COMMENTS