काठमाडौं, साउन ११ – लकडाउनका कारण बिदामा बसेका रेष्टुरेन्टका कामदारले मासिक ४१ सय रुपैयाँ पाउने भएका छन्। रेष्टुरेण्ट व्यवसायी र तीन संगठनका आधिकारिक ट्रेड युनियनबीच यस्तो सम्झौता भएको हो।
कोभिड-१९ संक्रमणका कारण पूर्ण रूपमा रेष्टुरेण्ट चल्न नसकेपछि व्यवसायी र ट्रेड युनियनबीच आगामी डिसेम्बर महिनासम्म मासिक ४१ सय रुपैयाँ न्यूनतम पारिश्रामिक दिइने सम्झौता भएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।
सन् २०२० डिसेम्बरसम्मका लागि लागू हुने गरी गरिएको यो दुईपक्षीय सम्झौता अनुसार व्यवसायीले पर्यटक सिजन सुरु भएपछि सबै जनशक्तिको रोजगारी सुनिश्चित पनि गरेको छ। रेबानका अनुसार रेष्टुरेण्टमा कार्यरत जनशक्तिलाई ‘आलोपालो’ अनुसार काममा परिचालन गराइनेछ।
सरकारले लकडाउन खुकुलो बनाएसँगै काममा सहभागी हुने जनशक्तिलाई मासिक पारिश्रामिक दिनुका साथै न्यूनतम एक लाख रुपैयाँको कोभिड-१९ बीमा गराइने प्रावधान रहेको अध्यक्ष राजभण्डारीले बताए। उनका अनुसार हाल रेष्टुरेण्टमा कार्यरत जनशक्तिको न्यूनतम पारिश्रामिक १३ हजार आठ सय रुपैयाँ छ। लकडाउन अघि १० करोड रुपैयाँको कारोबार भएका मुलुकमा संचालित रेष्टुरेण्ट उद्योग लकडाउनमा निल नै भएको राजभण्डारीले जानकारी दिए।
लकडाउन समयावधि बीचमा रेबानले अनलाइन सेवा खोलेपछि सामान्य अवस्थाको तुलनामा १५ प्रतिशतमात्रै बिक्री भएको उनले बताए।
हाल लकडाउन खुकुलो हुँदै गर्दा देशभरका रेष्टुरेण्टमा २५ प्रतिशत कारोबार सुरु भएको उनको प्रक्षेपण छ।
कोभिड-१९ का कारण काठमाडौंमा चार दर्जनभन्दा बढी टुरिष्ट रेष्टुरेण्ट बन्द भएका छन्। पर्यटक आवागमन सुरू नभएकाले ती कहिले खुल्ने भन्ने अनिश्चित छ।
FACEBOOK COMMENTS