काठमाडौं । हिन्दी सिनेमाको इतिहास चलचित्रका कथाको मात्रै इतिहास होइन, दर्शकको बदलिँदो रुचि र समयअनुसार फेरिँदै गएको चलचित्रको शैलीको पनि इतिहास हो । एक समय ठूलो पर्दामा प्रेमकथाको प्रभाव थियो । नायक–नायिका, प्रेम, विछोड र मिलनमा आधारित कथाले दर्शकलाई हलसम्म तान्थ्यो । त्यसपछि हास्यप्रधान चलचित्रको समय आयो । लगातार बनेका हास्य चलचित्रले दर्शकलाई मनोरञ्जन दिए र व्यापारमा पनि सफलता हासिल गरे ।
त्यसपछि हरर र डर–हास्य मिश्रित चलचित्रको समय देखियो । भूतप्रेत र डरका साथ हास्य मिसाइएका कथालाई दर्शकले रुचाए । त्यसपछि ठूलो पर्दामा द्वन्द्वप्रधान चलचित्रको प्रभाव बढ्यो । ठूला कलाकार, ठूला हतियार, विशाल दृश्य, तीव्र द्वन्द्व र ठूलो लगानीमा चलचित्र बन्न थाले ।
यी सबैबीच चलचित्र निर्माताले वास्तविक व्यक्तिको जीवनमा आधारित चलचित्र पनि बनाउँदै आएका थिए । केही जीवनकथामा आधारित चलचित्र सफल भए भने केहीले अपेक्षित सफलता पाउन सकेनन् । तर अहिले भने हिन्दी सिनेमामा फेरि बायोपिक अर्थात् वास्तविक व्यक्तिको जीवनमा आधारित चलचित्रको लहर फर्किन थालेको देखिएको छ ।
सन् २०२६ मा नीम करौली बाबाको जीवनमा आधारित ‘हनुमान अंश’ सफल हुनु र ‘चन्दू च्याम्पियन’ले राष्ट्रिय पुरस्कार पाउनुले पनि निर्माताको ध्यान वास्तविक व्यक्तिका कथातर्फ बढेको देखिन्छ । सन् २०२७ का लागि समेत विभिन्न क्षेत्रका चर्चित व्यक्तिको जीवनमा आधारित ठूला चलचित्र तयारीमा रहेकाले हिन्दी सिनेमा काल्पनिक कथाभन्दा वास्तविक जीवनका पात्रमा नयाँ नाटकीयता खोजिरहेको हो कि भन्ने बहस सुरु भएको छ ।
हिन्दी सिनेमामा प्रेम कहिल्यै एउटा चलचित्र विधामा मात्र सीमित रहेन । लामो समयसम्म प्रेमकथा चलचित्रको सबैभन्दा बलियो आधारका रूपमा रह्यो । राज कपूर–नर्गिसदेखि देवानन्द, दिलीपकुमार, राजेश खन्ना, अमिताभ बच्चन, शाहरुख खान हुँदै पछिल्ला पुस्तासम्मका कलाकारले प्रेमकथामार्फत हिन्दी सिनेमाको पहिचान बनाउन महत्वपूर्ण भूमिका खेले । तर दर्शकको रुचि सधैँ एउटै रहेन। समाज परिवर्तन हुँदै जाँदा चलचित्रका कथा पनि परिवर्तन भए । दर्शकले प्रेमसँगै हास्न, डराउन, रोमाञ्चित हुन र ठूलो पर्दामा ठूलो दृश्य तथा द्वन्द्व हेर्न चाहन थाले। दर्शकले जुन शैली रुचाए, चलचित्र उद्योगले त्यही शैलीमा थप कथा खोज्दै गयो । अहिले यही प्रक्रिया बायोपिक चलचित्रमा देखिन थालेको छ ।

एक समय हिन्दी सिनेमामा बायोपिक भन्नासाथ क्रिकेटर, खेलाडी, स्वतन्त्रता सेनानी वा ठूला राजनीतिक व्यक्तित्वको जीवनमा आधारित चलचित्र बुझिन्थ्यो । संघर्ष, कठिनाइ, सफलता र अन्ततः उपलब्धि देखाउने ढाँचामा यस्ता चलचित्र बन्ने गर्थे । तर अहिले बायोपिकको दायरा फराकिलो हुँदै गएको छ । चलचित्र निर्माता केवल चर्चित नाम खोजिरहेका छैनन् । उनीहरू त्यस्ता जीवनकथा खोजिरहेका छन्, जसमा संघर्ष, विवाद, उपलब्धि, उतारचढाव र ठूलो पर्दामा प्रस्तुत गर्न सकिने विषयवस्तु सबै भेटिन्छन् । त्यसैले अब क्रिकेट, संगीत, कानुन, चलचित्र, विज्ञान र इतिहासलगायत विभिन्न क्षेत्रका चर्चित व्यक्तिको जीवनमा आधारित चलचित्र निर्माण भइरहेका छन् ।

अभिनेत्री श्रद्धा कपूर अभिनीत ‘ईठा’ महाराष्ट्रकी चर्चित लावणी तथा तमाशा कलाकार विठाबाई नारायणगाउँकरको जीवनमा आधारित रहेको बताइएको छ । चलचित्रको निर्देशन लक्ष्मण उतेकरले गरिरहेका छन् । चलचित्र ४ डिसेम्बर २०२६ मा प्रदर्शनमा आउने बताइएको छ ।

यो चलचित्रको विशेष पक्ष भनेको यसको कथा क्रिकेटर वा चलचित्र क्षेत्रका चर्चित व्यक्तिमा आधारित नभई लोककलासँग जोडिएकी महिला कलाकारको जीवनमा केन्द्रित हुनु हो ।
अभिनेता राजकुमार रावले चर्चित विशेष सरकारी वकिल उज्ज्वल निकमको भूमिका निर्वाह गरिरहेको बताइएको छ । यो चलचित्र अदालतमा हुने घटनाक्रममा आधारित कथामा निर्माण भइरहेको र निकमले बहस गरेका महत्वपूर्ण कानुनी मुद्दालाई समेत कथाको हिस्सा बनाइएको बताइएको छ । चलचित्र १६ अक्टोबर २०२६ मा प्रदर्शनमा आउने बताइएको छ । यसले बायोपिकको दायरा खेलकुद र चलचित्र क्षेत्रभन्दा बाहिर कानुन, अपराध, अदालत र चर्चित मुद्दासँग जोडिएको व्यक्तिको जीवनसम्म विस्तार भएको देखाउछ ।
सन् २०२६ का चर्चित बायोपिकमध्ये ‘वी. शान्ताराम’ पनि एक हो । यसमा सिद्धान्त चतुर्वेदीले शान्तारामको भूमिका निर्वाह गरिरहेका छन् भने तमन्ना भाटिया पनि महत्वपूर्ण भूमिकामा रहेको बताइएको छ । त्यस्तै शान्ताराम भारतीय सिनेमाका चर्चित चलचित्र निर्माता, समाज सुधारक तथा कलाकार थिए। उनको जीवन र चलचित्र क्षेत्रमा पुर्याएको योगदानलाई ठूलो पर्दामा प्रस्तुत गर्ने प्रयासका रूपमा यो चलचित्रलाई हेरिएको छ ।
बायोपिकको नयाँ लहर मनोरञ्जन क्षेत्रमै सीमित छैन । ‘वाइट’ नामको चलचित्र श्री श्री रविशंकरको जीवनमा आधारित रहेको बताइएको छ । यसमा विक्रान्त मैसी मुख्य भूमिकामा रहेका छन् । यद्यपि चलचित्र प्रदर्शन हुने मिति भने अहिलेसम्म सार्वजनिक भएको छैन।
हिन्दी सिनेमामा यसअघि पनि विभिन्न क्षेत्रका चर्चित व्यक्तिको जीवनमा आधारित थुप्रै चलचित्र निर्माण भइसकेका छन्। तीमध्ये ‘दंगल’, ‘भाग मिल्खा भाग’, ‘पान सिंह तोमर’, ‘मेरी कोम’, ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’, ‘गुञ्जन सक्सेना’, ‘सुपर ३०’, ‘सरबजीत’, ‘सञ्जु’ र ‘अजहर’ चर्चित छन्।
यी चलचित्रले खेलकुददेखि चलचित्र, सैन्य सेवा र सामाजिक जीवनसम्मका विभिन्न व्यक्तिका कथा पर्दामा ल्याएका थिए ।
सन् २०२७ मा बायोपिकको यो लहर अझ विस्तार हुने देखिएको छ। राजकुमार राव अभिनीत ‘दादा’ यसमध्ये चर्चामा रहेको चलचित्र हो । यसमा उनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीको भूमिका निर्वाह गरिरहेको बताइएको छ ।
चलचित्रको पहिलो झलकमा सन् २००२ को लर्ड्स मैदानमा गांगुलीले गरेको चर्चित शर्टलेस उत्सवलाई पुनः प्रस्तुत गरिएको बताइएको छ । चलचित्र १४ मे २०२७ मा प्रदर्शन हुने घोषणा गरिएको छ । क्रिकेटरको जीवनमा आधारित चलचित्र हिन्दी सिनेमाका लागि नयाँ विषय होइन । तर गांगुलीको जीवनमा भारतीय क्रिकेटको महत्वपूर्ण समय, कप्तानी र उनको व्यक्तिगत व्यक्तित्व जोडिएकाले चलचित्रप्रति चासो बढेको देखिन्छ ।
भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको जीवन पनि ठूलो पर्दामा आउने तयारीमा रहेको बताइएको छ । चलचित्रमा धनुषले मुख्य भूमिका निर्वाह गर्ने समाचार सार्वजनिक भएका छन् । यो परियोजनाले बायोपिकको दायरालाई विज्ञान, शिक्षा र राष्ट्र निर्माणसँग जोडिएका कथातर्फ पनि लैजाने देखिन्छ ।
सन् २०२७ का लागि चर्चामा रहेको अर्को चलचित्र ‘द प्राइड अफ भारत–छत्रपति शिवाजी महाराज’ हो । यसमा ऋषभ शेट्टीले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ । ऐतिहासिक व्यक्तित्वमा आधारित यस्ता चलचित्रमा बायोपिक र ऐतिहासिक महाकाव्य शैलीको मिश्रण देखिन्छ। अर्थात् वास्तविक व्यक्तिको जीवनलाई ठूलो चलचित्रको स्वरूपमा प्रस्तुत गर्ने प्रयास गरिन्छ ।
बायोपिकको बढ्दो लहरमा महिला कलाकारका जीवनकथा पनि अघि आउँदै छन् । मधुबाला र मीना कुमारीजस्ता चर्चित कलाकारको जीवनमा आधारित चलचित्रको चर्चा पहिलेदेखि नै भइरहेको छ । त्यसैगरी एमएस सुब्बुलक्ष्मीको जीवनमा आधारित चलचित्रमा रश्मिका मन्दानाले उनको भूमिका निर्वाह गर्ने बताइएको छ । चलचित्रले सुब्बुलक्ष्मीको सांगीतिक यात्रा र उपलब्धिसँगै उनको व्यक्तिगत जीवनलाई समेत प्रस्तुत गर्ने प्रयास गर्नेछ । त्यस्तै मधुबालाको जीवनमा आधारित चलचित्रमा सारा अर्जुनले मुख्य भूमिका निर्वाह गर्ने सम्भावना रहेको बताइएको छ ।
बायोपिकको बढ्दो लहरसँगै एउटा महत्वपूर्ण प्रश्न पनि उठेको छ—कुनै चर्चित व्यक्तिको जीवनमा चलचित्र बनाउनका लागि उनको नाम मात्रै पर्याप्त हुन्छ त ? कुनै प्रसिद्ध व्यक्तिको जीवन आफैँमा रोचक हुन सक्छ। तर त्यही जीवनलाई दुईदेखि साढे दुई घण्टाको चलचित्रमा प्रभावकारी कथा बनाउन भने चुनौतीपूर्ण हुन्छ । धेरै बायोपिक एउटै ढाँचामा अघि बढ्ने गरेका छन्—गरिबी वा संघर्ष, त्यसपछि सफलता, बीचमा संकट र अन्त्यमा ठूलो उपलब्धि । यस्तो कथा बारम्बार दोहोरिँदा दर्शकका लागि नयाँपन कम हुन सक्छ ।
त्यसैले आगामी बायोपिक चलचित्रका लागि सबैभन्दा ठूलो परीक्षा कथा र पटकथाको हुने देखिन्छ । वास्तविक व्यक्तिको जीवनमा भएका घटनालाई पर्दामा कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले चलचित्रको प्रभाव निर्धारण गर्नेछ । बायोपिकमा वास्तविक पात्र र त्यसको भूमिका निर्वाह गर्ने कलाकारबीचको समानता तथा कलाकारको अभिनय पनि महत्वपूर्ण पक्ष मानिन्छ ।
धनुषले एपीजे अब्दुल कलाम वा इलैयाराजाजस्ता व्यक्तिको भूमिका निर्वाह गर्ने, राजकुमार रावले सौरव गांगुली र उज्ज्वल निकमजस्ता फरक व्यक्तित्वको भूमिका निभाउने तथा सिद्धान्त चतुर्वेदीले वी. शान्तारामको भूमिका निर्वाह गर्ने भएपछि चलचित्रको घोषणा भएदेखि नै कलाकारको छनोट चर्चाको विषय बन्ने गरेको छ ।
दर्शकले चलचित्र प्रदर्शनअघि नै एउटा प्रश्न गर्न थाल्छन्—कलाकार वास्तविक व्यक्तिजस्तो कति देखिन्छन् र उनको व्यक्तित्वलाई पर्दामा कति प्रभावकारी रूपमा उतार्न सक्छन् ? यही जिज्ञासाले चलचित्रको पहिलो झलकदेखि प्रदर्शनसम्म दर्शकको चासो कायम राख्न मद्दत गर्न सक्छ ।
यसरी हेर्दा हिन्दी सिनेमामा बायोपिकको नयाँ चरण सुरु हुँदै गएको देखिन्छ । अब भने वास्तविक व्यक्तिको नाम र जीवनकथा मात्रै पर्याप्त हुने छैन। दर्शकलाई उनीहरूको जीवनको नयाँ पक्ष, बलियो कथा र प्रभावकारी प्रस्तुति पनि चाहिनेछ ।