काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान बालेन नेतृत्वको सरकारका गतिविधि जनविरोधी, स्वेच्छाचारी र गैरजिम्मेवार भएको आरोप लगाउँदै त्यसविरुद्ध जनतालाई सचेत बनाउने र अन्य दल तथा लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर संघर्ष अघि बढाउने निर्णय भएको बताएका छन् ।
उनका अनुसार सरकार गठन भएदेखि नै प्रतिशोधपूर्ण र एकतर्फी शैलीमा काम भइरहेको दाबी गरिएको छ । उनले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पूर्वाग्रही र गैरन्यायिक रूपमा पक्राउसमेत गरिएको आरोप लगाए ।
बस्नेतले सरकारले संसदको बैठक आफैंले आह्वान गरेपछि स्थगित गरी धेरै अध्यादेश जारी गरेको, त्यसमार्फत विद्यार्थी संगठन र पेशागत संघ–संस्थामाथि प्रतिबन्ध लगाइएको जस्ता कदम गलत भएको टिप्पणी गरे ।
त्यसैगरी सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई डोजर चलाएर बलपूर्वक हटाइएको, भन्सार नाकामा कडाइ बढाएर मधेसका जनतालाई समस्या दिइएको, र न्यायालयमा वरिष्ठता तथा परम्परागत मापदण्ड मिचेर नियुक्ति गरिएको आरोप पनि उनले लगाए । उनले विश्वविद्यालयलगायत निकायमा राजनीतिक हस्तक्षेप भएको, दलित र महिलामाथि हुने हिंसा बढ्दा पनि सरकार मौन रहेको र महँगी बढ्दा पनि जनताको समस्या प्रति बेवास्ता गरिएको बताए ।
त्यस्तै निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति ल्याइएको र प्रमाण तथा छानबिन बिना व्यवसायीलाई पक्राउ गरेर दु:ख दिने काम भएको उनको भनाइ छ । बस्नेतले यस्ता गतिविधिहरूले लोकतान्त्रिक मूल्य, जनअधिकार र राष्ट्रिय हितमाथि असर पारिरहेको भन्दै त्यसविरुद्ध सशक्त जनआन्दोलन आवश्यक रहेको बताए ।
