काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए ।
तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरेका हुन् ।
राष्ट्रियसभाबाट यसअघि नै पारित भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्रतिनिधिसभामा दफावार छलफल भएकाे हाे। साथै सो विधेयकका विभिन्न प्रावधान संशोधनका लागि परेका प्रस्तावमाथि मन्त्रीले जवाफ दिने तथा फिर्ता नलिइएका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया समेत सकिएको थियो ।
सभामुख सापकोटाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले विधेयकमाथिको जवाफ दिने क्रममा सरकारको तर्फबाट स्वीकार गरेको संशोधनहरुलाई स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गरे जुन बहुमतले स्वीकृत भयो । तर स्वीकृत भएको संशोधनलाई सो विधेयकको अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्नै लाग्दा सभामुख सापकोटालाई ने.म.कि.पा का सांसद प्रेम सुवालले बीचमा रोकेका हुने ।
उनले सदनभित्र आफूले गन्दा सांसदहरुको संख्या ६० मात्र रहेको र त्यसलाई ६९ जना पुर्याएर पास गर्न आग्रह गरे । त्यसपछि सभामुखले नेपालको संविधानको धारा ९४ को व्यवस्थाअनुसार कुनै पनि विषय निर्णयार्थ पेश गर्न एक चौथाई सांसद चाहिने व्यवस्था रहेको बताउँदै ३ मिनेट घण्टी बजाएर सांसदहरुको संख्या गन्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।
३ मिनेट घण्टी बजाएर सांसदको गणना गर्दा हलभित्र ६६ जना सांसदमात्र फेला परे । गणपूरक संख्या पुग्न ३ सांसदको अभाव भएपछि सभामुख सापकोटाले कार्यसूचीको बाँकी कुराहरु हटाइएको बताउँदै आगामी आईतबार सम्मका लागि बैठक स्थगित गरे ।
पछिल्लो समय बैठकमा विधेयक पारित गर्ने क्रममा सांसदहरुको गणपूरक संख्या नै नपुग्ने अवस्था सिर्जना भइरहेको छ । पहिले जस्तो तुलनात्मक रुपमा संसदमा सांसदहरुको उपस्थिति कम हुँदै गएको संघीय संसदका प्रवक्ता डा।रोजनाथ पाण्डेले रातोपाटीलाई बताए ।
FACEBOOK COMMENTS