काठमाडौं । गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको पाँचौँ मिनेटमा निर्णायक गोल गरेपछि ब्राजिलले पुनरागमन जित निकाल्दै जारी विश्वकपमा जापानलाई २-१ ले पराजित गरेको छ। यससँगै पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको निर्धारित समय सकिनै लाग्दा ब्राजिलले जापानको पेनाल्टी क्षेत्रनजिकै बल खोसेको थियो । ब्रुनो गिमाराइसले दिएको उत्कृष्ट पासलाई गाब्रिएल मार्टिनेलीले नियन्त्रण गर्दै पोस्टमा ठोक्काएर जाली चुमाएपछि ब्राजिलले रोमाञ्चक जित सुनिश्चित गर्यो ।
जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राखेको थियो । खेलको अग्रता पनि जापानले नै लिएको थियो । दानिलोको कमजोर पासलाई काइसु सानोले बीचमै खोसेर कासेमिरोलाई छक्याउँदै तल्लो कुनामा शानदार प्रहार गरेका थिए ।
पहिलो हाफमा लय समात्न नसकेको ब्राजिल दोस्रो हाफमा भने आक्रामक रूपमा फर्कियो । खेल पुनः सुरु भएको १० मिनेटपछि गाब्रिएलको पछाडिबाट आएको क्रसलाई कासेमिरोले शक्तिशाली हेडमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

बराबरी गोलपछि ब्राजिलले लगातार आक्रमण गरिरह्यो । भिनिसियस जुनियरले एकल प्रयासमा दुई रक्षकलाई छल्दै गरेको आकर्षक प्रहार जापानी गोलरक्षक जियोन सुजुकीले पोस्टतर्फ फर्काएपछि ब्राजिल अग्रता लिनबाट वञ्चित भएको थियो ।
त्यसपछि जापानले खेलमा पुनः सन्तुलन कायम गरे पनि अन्तिम क्षणमा आओ तनाकाले आफ्नै पेनाल्टी क्षेत्रको छेउमा बल गुमाए । त्यसैको फाइदा उठाउँदै मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानको उत्कृष्ट संघर्ष निराशामा टुंगियो र ब्राजिलले अन्तिम १६ को यात्रा तय गर्यो । यो हारसँगै जापानको विश्वकप यात्रा टुंगिएको छ ।