काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राहदानी छपाइको भ्रष्टाचार मुद्दामा आरोपी बनाइएका पाँच जनालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेष अदालतले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रराज मल्ललाई धरौटीमा छोडेको छ भने तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई बिना धरौटी छोड्न आदेश दिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी प्रकरणमा ७ जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।
२- त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग, क्याम्पसबाट विद्यार्थी संगठनका संचरना हटाउन निर्देशन दिएको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार दलीय विद्यार्थी संगठनको संरचना हटाउन निर्देशन दिएको हो ।
निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागहरुलाई लेखेको पत्रमा भनिएको छ- ‘प्रस्तुत विषयमा, विश्वविद्यालय अनुदान आयोगको पत्र संख्या २०८२/०८३ च.नं. २००३ मिति २०८३/०३/१० को प्राप्त पत्रमा संलग्न शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र संख्या २०८२ / ०८३ च.नं. ५८९ मिति २०८३/०३/०९ को पत्रको तपसिलमा उल्लेखित बुंदा नं. (ख) मा “शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिन भित्र विद्यालय / विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन भित्र स्टुडेन्ट काउन्सिल /भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने’ भन्ने उल्लेख भई आएकोले सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथासिघ्र छिटो जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गर्दछु ।’ विश्वविद्यालयसम्बन्धी अध्यादेशमार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व रहेन व्यवस्था पनि निलम्बन गरिएको थियो । विद्यार्थी संगठनहरूले सरकारको उक्त निर्णयको प्रतिवाद गर्दै आएका छन् । सरकारको सय बुँदे कार्यसूचीमा ६० दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र ९० दिनभित्र विद्यार्थी काउन्सिल/भ्वाइस अफ स्डुटेडेन्ट संयन्त्र विकास गर्ने उल्लेख थियो ।
३- नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् । आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट पद तथा गोपनियताको शपथ गरेपछि उनी धितोपत्र बोर्डको ललितपुरस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । शपथपछि अर्थमन्त्री डा. वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।

अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न निर्देशन दिदै अर्थमन्त्री डा. वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने परिपाटी रोक्न आग्रह गरेका थिए । भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
४- उत्तरी जर्मनीको स्टाडे सहरमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनासँग सम्बन्धित एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जर्मन समाचार संस्था डीपीएका अनुसार प्रहरीलाई उद्धृत गर्दै सहरको केन्द्र बाहिर रहेको क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन भइरहेको छ । ल्युनेबर्ग प्रहरी मुख्यालयले सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दालाई घटनास्थल वरपर नजान र सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ ।
घटनास्थलमा अहिले पनि उद्धार तथा सुरक्षा अभियान जारी रहेको प्रहरीले जनाएको छ । गोलीकाण्डको कारण अहिलेसम्म खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गोलीबारी स्टाडे सहरको मध्यभागमा रहेको एक युवा केन्द्रमा भएको हो । ह्याम्बर्गको पश्चिममा अवस्थित स्टाडे सहरमा करिब ५० हजार जनसंख्या रहेको छ । केही स्थानीय सञ्चारमाध्यमले घटनामा एकभन्दा बढी आक्रमणकारी संलग्न हुन सक्ने दाबी गरेका छन् ।
५- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ३ दिन म्याद थप गरेको छ । विशेष अदालतका सदस्य न्यायाधीशहरु नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट सोमबार पौडेललाई थप तीन दिनको म्याद थप गरेको हो । यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिनको म्याद थप गरेको थियो, जुन आज सकिदै थियो । पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग गरिएको छ र अर्को सुनुवाई मंगलबार हुदैछ ।
६- नेपाली काँग्रेसका सभापति गगन थापाले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेका छन् । अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन (काठमाडौं) लाई सदस्य र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई सदस्य सचिव पदमा मनोनयन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गते सम्पन्न बैठकको निर्णयानुसार नेपाली कांग्रेसका सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार मनोनयन गरेको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकरी दिएका छन् ।
७- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बाँठपाली देवता मन्दिर निर्माण योजनामा अनियमितता गरेको आरोपमा नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामध्ये दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासहित नौ जना प्रतिवादी रहेका छन् । आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटन गन्तव्यको पहिचान तथा विकास गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख बजेट विनियोजन गरेको थियो । उक्त रकम दुर्गाथली गाउँपालिकामार्फत खर्च गर्ने व्यवस्था गरिएको थियो भने प्राविधिक मूल्याङ्कन र अनुगमनको जिम्मेवारी छविसपाथिभेरा गाउँपालिकालाई दिइएको थियो ।
अनुसन्धानका क्रममा मन्दिर निर्माणका लागि स्वीकृत कुल लागत ५६ लाख ७ हजार ८९७ रहेको, जसमा उपभोक्ताको जनसहभागिता ११ लाख ७ हजार ८९७, आकस्मिक खर्च २ लाख २५ हजार तथा सरकारी बजेट ४५ लाख रहेको खुलेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वास्तविकभन्दा बढी काम भएको देखाउने, अस्वाभाविक रूपमा उच्च दररेट कायम गर्ने, सम्झौताअनुसार कटाउनुपर्ने जनसहभागिताको रकम कम कट्टा गर्ने तथा झुट्टा बिल तथा भरपाई तयार गरी सरकारी रकमको दुरुपयोग गरेका थिए । यसरी झुट्टा कागजातका आधारमा कुल २२ लाख १ हजार ६६५ बढी भुक्तानी गरिएको पुष्टि भएको आयोगको दाबी छ ।
उक्त कार्यबाट आफूहरूलाई गैरकानुनी लाभ पुर्याई नेपाल सरकारलाई आर्थिक हानि पुर्याएको निष्कर्षसहित आयोगले सबै नौ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ । मुद्धा दायर हुनेमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सवइन्जिनियर बम बहादुर बोहरा, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला र वडा नम्बर ६ का वडा अध्यक्ष मोहन लाल वि.क., श्री बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा भन्ने कृष्ण बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा रहेका छन् ।
८- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज र भोली बन्द गरिएको छ । नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि आज र भोली नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । चिनियाँ पक्षले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी द्रुव प्रसाद अधिकारीले जारी गरेको सूचनामा भनिएको छ- ‘रसुवागढी सीमानाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल (बेलीब्रीज ) को चेकजाँच एवम् मर्मतसम्भार गर्नुपर्ने भएकाले मिति २०८३।०३।१५ र १६ गते उक्त बेलीब्रिजबाट हुने सवारी आवगमनमा रोक लगाइएको भनी चिनीयाँ समकक्षीबाट जानकारी हुन आएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, कैलाश मानसरोबर तीर्थाटनमा रहनु भएका तीर्थयात्रीहरुलाई १०/१० जनाको समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रहरुको समन्वयमा यात्रा सहजीकरण भईरहेको बेहोरा समेत अनुरोध छ ।’
९- पाकिस्तानको प्रमुख समाचार च्यानल जियो न्यूजको प्रसारण अनुमति १५ दिनका लागि निलम्बन गरिएको छ । पाकिस्तान विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरणले मुहर्रमका क्रममा प्रसारण गरिएको एक कार्यक्रममा धार्मिक भावनामा चोट पुग्न सक्ने दृश्य देखाइएको आरोप लगाउँदै यो कारबाही गरेको हो । प्राधिकरणका अनुसार जुन २६ मा प्रसारण भएको ‘सफर–ए–इश्क’ कार्यक्रममा पाकिस्तानको धार्मिक, सांस्कृतिक तथा सामाजिक संवेदनशीलताअनुकूल नदेखिएका दृश्य समावेश गरिएको थियो । यस्ता सामग्रीले धार्मिक सद्भावमा असर पार्न सक्ने भन्दै च्यानलविरुद्ध कारबाही गरिएको जनाइएको छ । नियामक निकायले जियो न्यूजलाई घटनाबारे आन्तरिक छानबिन गर्न निर्देशन दिएको छ ।
साथै यस विषयलाई उजुरी परिषद्मा पनि पठाइएको जनाएको छ । कारबाहीपछि जियो न्यूजले विवादित कार्यक्रम आफ्ना सबै डिजिटल माध्यमबाट हटाएको छ । च्यानलले सार्वजनिक रूपमा क्षमायाचनासमेत गर्दै यो सम्पादकीय कमजोरीका कारण भएको जनाएको छ । च्यानलले कार्यक्रममा इराक तथा मध्यपूर्वका केही देशमा शिया समुदायले पालन गर्ने स्थानीय धार्मिक परम्परालाई जानकारीमूलक उद्देश्यले मात्र प्रस्तुत गरिएको बताएको छ । कुनै विशेष धार्मिक विचारधाराको समर्थन गर्ने उद्देश्य नभएको पनि च्यानलले स्पष्ट पारेको छ । यस घटनापछि पाकिस्तानमा प्रेस स्वतन्त्रता तथा सञ्चारमाध्यममाथि नियामक निकायको बढ्दो नियन्त्रणबारे बहस फेरि तीव्र बनेको छ ।
१०- नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका ७६ लाख ९९ हजार २२७ कित्ता शेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी स्नो रिभर, टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाभिमान लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई बैंकको ८ करोड ८३ लाख बराबरको कारोबार भएको छ भने सोपान फार्माको ८ करोड ८० लाख बराबरको कारोबार भएको छ ।
११- वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न गैरसरकारी संस्थाहरूले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा फेसबुक विश्वभर अवैध वन्यजन्तु तस्करीको सबैभन्दा ठूलो अनलाइन बजार बनेको दाबी गरिएको छ । प्रतिवेदनले कमजोर सामग्री निगरानी प्रणाली र सामग्रीबाट आम्दानी गर्ने व्यवस्थाका कारण यस्तो अवैध कारोबार बढ्दै गएको आरोप लगाएको छ। अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको विश्वव्यापी पहलले गरेको अध्ययनअनुसार सन् २०२४ को अप्रिलदेखि सन् २०२६ को मार्चसम्म सामाजिक सञ्जालमा वन्यजन्तु तथा तिनका अङ्गको बिक्रीसँग सम्बन्धित २० हजारभन्दा बढी विज्ञापन र दुई लाख ६० हजारभन्दा बढी बिक्रीसम्बन्धी सामग्री फेला परेका छन् । तीमध्ये करिब ७५ प्रतिशत विज्ञापन फेसबुकमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार बिक्रीका लागि राखिएका करिब ८४ प्रतिशत वन्यजन्तु तथा तिनका अङ्ग अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धिअन्तर्गत व्यावसायिक कारोबारमा प्रतिबन्ध लगाइएका प्रजातिका हुन् । तीमध्ये आधाभन्दा बढी प्रजाति सङ्कटापन्न वा अति सङ्कटापन्न अवस्थामा रहेका जनाइएको छ । यस्ता वन्यजन्तु तथा तिनका अङ्गको विज्ञापित मूल्य कुल ६ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा पैङ्गोलिन, गैँडाको खाग, चिम्पाञ्जी तथा संरक्षित पक्षीलगायतका वन्यजन्तु र तिनका अङ्ग खुला रूपमा बिक्रीका लागि राखिएको उल्लेख गरिएको छ । अनुसन्धानकर्ताहरूले फेसबुकको विज्ञापन र सदस्यता आधारित आम्दानी प्रणालीबाट यस्ता खाता सञ्चालन गर्ने व्यक्तिले आर्थिक लाभ लिइरहेको र त्यसले अवैध तस्करीलाई थप प्रोत्साहन दिएको आरोप लगाएका छन् । यता मेटाले भने यी आरोपबारे विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जालमा सङ्कटापन्न वन्यजन्तु तथा तिनका अङ्गको बिक्री पूर्ण रूपमा प्रतिबन्धित रहेको जनाएको छ ।
१२- आफ्नै दाई २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बिनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
१३- भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा एक हजार ४५० पुगेको छ । सरकारी अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घाइते हुनेको संख्या तीन हजार १५० पुगेको छ । सांसद होर्खे रोड्रिगेजले उद्धार कार्य अझै जारी रहेको जनाउँदै अहिले जीवित व्यक्तिहरूको खोजीका लागि अत्यन्त महत्वपूर्ण समय रहेको बताएका छन् । उनका अनुसार भूकम्पका कारण ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। साथै १२ हजार ७२१ जना विस्थापित भएका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले विदेशी उद्धार टोलीसँगको भेटमा सप्ताहन्तभर ३३ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएकी छन् । यसअघि संयुक्त राष्ट्रसंघीय बाल कोषले भूकम्पपछि १८ लाख मानिस मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेको जनाएको थियो । तीमध्ये करिब छ लाख ८० हजार बालबालिका रहेका छन् । यस्तै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भूकम्पबाट भएको प्रत्यक्ष भौतिक क्षतिको प्रारम्भिक अनुमान ६ अर्ब ७० करोड अमेरिकी डलर रहेको जनाएको छ। यो रकम भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर रहेको बताइएको छ ।
१४- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जना र कोशी, गण्डकी तथा बागमतीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने काठमाडौँमा १८ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ३१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ५ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ९ जना, सुदूरपश्चिममा ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
१५- यस वर्ष असार १२ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको छ । कृषि बिभागले असार १२ गतेसम्म भएको रोपाईको विवरण सार्बजनिक गर्दै अहिलेसम्म ११.३३ प्रतिशत रोपाइँ भएको जानकारी दिएको हो । गतबर्ष अहिलेसम्म १५.६ प्रतिशत रोपाइँ भएको थियो । यसबर्ष पनि पहिला जस्तै सिँचाइको अभाव तथा रासायनिक मलको अभाव कायमै रहेको छ । कृषि विभागका अनुसार नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ८१ हजार ४८८ हेक्टर रहेको छ ।
जसमा हालसम्म एक लाख ८६ हजार ५८३ हेक्टरमा धान रोपाइँ भएको छ । प्रदेशको हिसाबले सबै भन्दा बढी कर्णाली प्रदेशमा २२.८ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम मधेश प्रदेशमा ५ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशमा सुख्खा भएका कारण रोपाइँ हुन सकेको छैन । नेपालको अन्नको भण्डार मानिने मधेशमा समयमा रोपाइँ हुन नसक्दा यस बर्ष धानको उत्पादन घट्ने आशंका गरिएको छ । विभागका अनुसार मधेसमा ३ लाख ५३ हजार १५० हेक्टर धान रोपाइँ हुने क्षेत्र रहेकोमा केवल १९ हजार १५८ हेक्टरमा रोपाइँ गरेको छ । त्यस्तै बागमती प्रदेशमा १२.६ प्रतिशत, कोशी प्रदेशमा ८.३ प्रतिशत र गण्डकी प्रदेशमा १२.७ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै सुदूरपश्चिममा ९.३ प्रतिशत रोपाइँ भएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४३१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४३२५ मा कारोबार भएको थियो ।
१७- इङल्याण्डमा जारी महिला टी- २० विश्वकपमा भारतको यात्रा समूह चरणमै टुङ्गिएको छ । आइतबार राति लर्ड्समा भएको आफ्नो अन्तिम समूह खेलमा छ पटकको च्याम्पियन अष्ट्रेलियासँग ६ विकेटले पराजित भएपछि भारत सेमिफाइनल पुग्न असफल भएको हो । सेमिफाइनलमा स्थान बनाउन भारतलाई अष्ट्रेलियाविरुद्ध जित अनिवार्य थियो । तर महत्त्वपूर्ण खेलमा भारतीय टोलीले दबाब सम्हाल्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । अष्ट्रेलियाले लगातार पाँचौँ जित निकाल्दै समूह ‘ए’ मा १० अंकसहित शीर्ष स्थान हासिल गर्यो र सेमिफाइनलमा प्रवेश गर्यो । त्यस्तै दक्षिण अफ्रिका ८ अंकसहित समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो ।
भारतले पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोर्दै ६ अंक जोड्यो । तर त्यो सेमिफाइनल पुग्न पर्याप्त भएन । यही समूहको अर्को खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई ४ विकेटले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यससँगै भारतको सेमिफाइनल पुग्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको थियो । समुह ए बाट भारतसहित बंगलादेश, पाकिस्तान र नेदरल्याण्डस बाहिरिएका छन भने समुह बी बाट श्रीलंका, न्यूजील्याण्ड, स्कटल्याण्ड र आयरल्याण्ड बाहिरिएका छन् । महिला टी- २० विश्वकपको सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ बाट अष्ट्रेलिया विजेता र दक्षिण अफ्रिका उपविजेताका रूपमा अघि बढेका छन् । समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड विजेता तथा न्युजिल्यान्ड उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा मंगलबार अस्ट्रेलियाले वेस्ट इन्डिजको सामना गर्ने भने अर्को सेमिफाइनलका खेलमा जुलाई २ मा इङल्याण्डले दक्षिण अफ्रीकाको सामना गर्ने छ । जारी विश्वकपको फाइनल खेल आगामी आइतबार हुने तालिका छ ।
१८- अमेरिका र इरानले पछिल्लो विवाद समाधान गर्ने दिशामा अघि बढ्न सहमति जनाएका छन् । दुवै देशका प्रतिनिधिमण्डलबीच मंगलबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ । वार्ताको मुख्य विषय होर्मुज जलडमरूमध्यलाई लिएर उत्पन्न विवाद समाधान गर्नु हुनेछ । अधिकारीहरूका अनुसार दुवै पक्षले सबै प्रकारका सैन्य गतिविधि र आक्रमण रोक्ने निर्णय गरेका छन् । अन्तर्राष्ट्रिय जलमार्गमा जहाजहरूको आवागमन कुनै अवरोधबिना सञ्चालन होस् भन्ने उद्देश्यले अमेरिका र इरान दुवै पक्ष अहिले तनाव कम गर्ने पक्षमा देखिएका छन् । यद्यपि यो सहमति अझै संवेदनशील अवस्थामा रहेको बताइएको छ । युद्धविराम भएको केवल ११ दिन मात्र भएकाले स्थिति पूर्ण रूपमा स्थिर भइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सहमतिका सर्त पालना नगरे पुनः सैन्य कारबाही सुरु गर्ने चेतावनी दिएका छन् ।
यही तनावपूर्ण अवस्थाबीच प्राविधिक तहको वार्ता निरन्तर जारी राख्न दुवै देश सहमत भएका छन् । यसैबीच, वाल स्ट्रिट जर्नलको एक प्रतिवेदनअनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले प्रारम्भिक शान्ति सम्झौताअनुसार होर्मुज जलडमरूमध्यमा यातायात व्यवस्थापन गर्ने विशेष अधिकार इरानसँग रहेको दाबी गरेका छन् । तर अमेरिकाले उक्त दाबी अस्वीकार गरेको छ । अमेरिकी पक्षले सम्झौताअनुसार इरानलाई जलमार्गमाथि नियन्त्रणको अधिकार नदिइएको र अन्तर्राष्ट्रिय जलमार्गमा जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित हुनुपर्ने अडान राखेको छ । इरानले ओमानको तट नजिकबाट गुज्रिरहेको एक जहाजमाथि आक्रमण गरेपछि यो विवाद थप चर्किएको थियो । इरानले जहाजहरू आफ्नै तटीय मार्ग हुँदै आवागमन गर्नुपर्ने धारणा राख्दै आएको छ । गत जुन महिनामा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको सम्झौताअनुसार होर्मुज जलडमरूमध्य खुला राख्ने जिम्मेवारी इरानलाई दिइएको उल्लेख छ । सम्झौतामा व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने तथा भविष्यमा समुद्री व्यवस्थापन र सेवा सञ्चालनसम्बन्धी व्यवस्था क्षेत्रका अन्य देशसँग सहकार्य गरेर तय गर्ने उल्लेख गरिएको छ ।
१९- आयरल्यान्डले रोमाञ्चक प्रतिस्पर्धामा भारतकिरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ । गएराती समपन्न सिरिजको दोस्रो टी- २० खेलमा आयरल्याण्डले भारतलाई १ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । आयरल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो । टी- २० विश्व विजेता भारतविरुद्ध आयरल्यान्डले पहिलो पटक कुनै पनि द्विपक्षीय सिरिज जित्न सफल भएको हो। पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो र १ रनको झिनो अन्तरले हार बेहोर्न पुग्यो ।
श्रेयस अय्यरको कप्तानीमा भारतको यो पहिलो सिरिज थियो । तर टोलीले दुवै खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा निराशाजनक नतिजा व्यहोर्नुपर्यो । विशेषगरी लगातार दोस्रो खेलमा भारतीय ब्याटिङ पूर्ण रूपमा असफल देखियो । स हारसँगै भारतको टी- २० क्रिकेटमा लामो समयदेखि कायम रहेको अपराजित यात्रा पनि अन्त्य भएको छ । भारतले सन् २०२३ अगस्ट १८ देखि सन् २०२६ जनवरी ३१ सम्म कम्तीमा दुई खेलको कुनै पनि द्विपक्षीय टी- २० सिरिज गुमाएको थिएन । आयरल्यान्डले विश्व विजेता भारतको लगातारको विजयी लय तोड्नुका साथै भारतको लगातार १६ द्विपक्षीय टी- २० शृङ्खला जित्ने ऐतिहासिक सिलसिलासमेत अन्त्य गरिदिएको छ ।
२०- सहआयोजक क्यानडाले अतिरिक्त समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १-० ले हराउँदै पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अवसरको हिसाबले निकै फितलो र प्रतिस्पर्धात्मक बनेको खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला एउस्ताकियोले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि क्यानडाले ऐतिहासिक जित हात पार्यो । यस प्रतियोगिताअघि विश्वकपमा खेलेका सबै ६ खेल गुमाएको क्यानडाले यस संस्करणमा भने उत्कृष्ट प्रदर्शन जारी राखेको छ । दक्षिण अफ्रिकामाथिको जितसँगै क्यानडा अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ ।
अब क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एक टोलीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको दक्षिण अफ्रिकाले लस एन्जलसमा निराशाजनक प्रदर्शन गर्यो । उसले पूरै खेलमा गोलपोस्टको दिशामा केवल एक प्रहार मात्र गर्न सक्यो र अतिरिक्त समयसम्म खेल लम्ब्याउने रणनीतिमा देखिएको थियो। तर अन्तिम क्षणमा गोल खाँदा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
क्यानडाले खेलभर दबाब बनाएको थियो । मोइस बोम्बिटोको हेडर दक्षिण अफ्रिकाका अब्रे मोडिबाले गोलरेखाबाट फर्काएका थिए । रिची लारियामाथि खुलिसो मुदाउले गरेको चुनौतीमा पेनाल्टी नदिइएपछि प्रशिक्षक मार्स असन्तुष्ट बनेका थिए । दोस्रो हाफमा अल्फोन्सो डेभिस मैदान प्रवेश गरेपछि क्यानडाको आक्रमण थप प्रभावकारी बनेको थियो । जोनाथन डेभिड र प्रमिस डेभिडले पनि गोल गर्ने अवसर सिर्जना गरे तर सफल हुन सकेनन् । यद्यपि गोलपोस्टमा सात प्रहार गरेको क्यानडाले अन्तिम समयमा गरेको एउटै गोल पर्याप्त बनेको थियो । त्यससँगै उसले ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाउँदै दक्षिण अफ्रिकाको यात्रा समाप्त गरिदियो ।