पोखरा मंसिर १, नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नाे पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिनुभएकाे छ । बुधबार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनु भएकाे हाे।
उहाँले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै भन्नुभयाे, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार-चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’
उहाँले नेपाली कांग्रेसका प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गर्नुभयाे । उहाँले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गर्नुभयाे ।
पूर्वप्रधानमन्त्री ओलीले एमालेले गरेको विकासको जस अहिलेको सत्ता गठबन्धनले लिन खोजेको बताउनु भयाे । उहाँले आफू प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको आरोप लगाउँदै भन्नुभयाे, ‘नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको छ ।’ उहाँले आफूले सुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले बिजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताउनु भयाे ।
एमाले कुनै जात विशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उहाँले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सम्पूर्ण जातजाति, धर्मावलम्बी मान्ने जनताको साझा राष्ट्रिय पार्टी भएको उहाँले बताउनु भयाे ।