काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
शुक्रबार कम्प्युटर एशोसिएशन नेपाल महासंघद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन नगरी मुलुक बलियो बन्न नसक्ने हुँदा यसका लागि सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइज गर्नुपर्ने बताउनुभएको छ । उहाँले अबको युग भनेको सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दो डिजिटलाइजेशनमा लैजान सुझाव दिनुभएको छ ।
विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उहाँले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लैजान आग्रह समेत गर्नुभयो । “हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो । तर महामारीको समयमा यो हाम्रो जिविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्विकार पनि ग¥यौं,” उहाँले भन्नुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र महासंघको भिजन पेपरमा समेत सूचना प्रविधिको विकासलाई प्रमुखताका साथ समेटेको बताउनुभयो ।