काठमाडौं । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ ।
नेपाल सरकारको प्रस्तावमा आईएमएफले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फतत नेपाललाई ४० करोड अमेरिकी डलर अर्थात् करीब ४८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो ।
यस्तो ऋण लिन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका अधिकारीहरू र आईएमएफका अधिकारीहरूबीच ‘एक लेभल’मा सहमति समेत जुटिसकेको छ । आइएमएफले यसबारेमा जानकारी दिँदै आईएमएफका मिशन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीसँग नेपालका अधिकारीहरूले पटकपटक छलफल गरेको र यस्तो ऋण दिन आईएमएफ तयार भएको हो ।
ग्रेगोरीसहित आईएमएफको टोली गत अक्टोबर २० देखि २९, नोभेम्बर १७ र १८ तथा नोभेम्बर ३० देखि डिसेम्बर २ तारीखसम्म नेपालमा समेत आएको थियो । उक्त टोलीले अघिल्लो साता अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेको थियो । त्यस बेला ऋणको बारेमा छलफल भएको थियो ।
ऋण रकम आईएमएफको कार्यकारी बोर्ड बैंठकबाट भने स्वीकृत हुन बाँकी छ । यस्तो रकम ३८ महीनाका लागि उपलब्ध गराउन गरी आगामी बोर्ड बैठकबाटै ऋण स्वीकृति गर्ने तयारी भइरहेको आईएमएफले जनाएको छ ।
सामान्यतया विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर हुँदा आईएमएफले ईसीएफ उपलब्ध गराउँदै आएको छ । हालै आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार यो शर्तसहितको ऋण हो । नेपालले लिन लागेको ईसीएफबाट कोभिड–१९ महामारीका कारण प्रभावित अर्थतन्त्र उकास्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व जोगाउन र गरीबी न्यूनीकरणका विभिन्न कार्यक्रममा खर्च गरिनेछ ।
आईएमएफका अनुसार कोभिड महामारीले नेपालको अर्थतन्त्रमा ठूलो असर पारेको छ, जनताको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS