काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर हुँदै जाँदा त्यसको असर राजनीतिमा पनि देखिन थालेको बताएका छन्।
सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै उनले समाजमा परोपकार, करुणा र सिर्जनशीलताभन्दा स्वार्थ र विनाशकारी सोच हाबी हुँदै गएको टिप्पणी गरे। उनले यो टिप्पणी २०८२ भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र आगजनीलाई लक्षित गरि गरेका हुन् ।
सोमबार एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ र छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले सार्वजनिक संरचना र सम्पत्तिको संरक्षण गर्नुपर्नेमा नष्ट गर्ने प्रवृत्ति बढेको बताए।
‘संसद् भवनजस्ता संरचना बनाउनुपर्ने ठाउँमा आगो लगाउने काम भएको छ, सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्नेमा नष्ट गर्ने मानसिकता चिन्ताजनक छ,’ उनले अगाडि भने।
आफू नेतृत्वको सरकारले देशका विभिन्न स्थानमा सभाहल, रङ्गशाला र अन्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्दै ओलीले निर्माण भएका संरचना भत्काउने, झुट बोल्ने तथा राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गर्ने प्रवृत्तिले समाजलाई गलत दिशातर्फ लैजाने बताए।

समाजका यस्ता विकृतिको प्रमुख कारणमध्ये सांस्कृतिक र नैतिक चेतनामा आएको गिरावट रहेको उनको तर्क थियो। मानिसको सोच र व्यवहारमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस तथा व्यक्तिगत स्वार्थले प्राथमिकता पाउन थालेको ओलीले बताए।
