कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले वैशाख ७ गतेदेखि आगामी १२ गतेसम्म ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएशन विथ एससीटी स्मार्ट क्युआर युनियन–पे’ आयोजना गरेको छ ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकास र परिवर्तनहरूबारे एकैथालोबाट जानकारी दिने उद्देश्यले क्यान महासंघले हरेक वर्ष यस्तो मेला आयोजना गर्दै आएको छ । यसका अलावा महासंघले अन्य विभिन्न शीर्षकमा पनि ट्रेड फेयरहरू आयोजना गरी सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका नयाँ–नयाँ आयामहरूबारे जानकारी पस्किदै आएको छ ।
पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले अझ यस्ता मेला तथा महोत्सवहरूको महत्व बढाउँदै लगेको छ । त्यसमाथि पनि विश्वव्यापी कोरोना महामारीले सूचना प्रविधिको प्रयोग ह्वात्तै बढाउनाका साथै महत्व झन् थपिदिएको छ । महामारीको गम्भीर त्रास र सरकारले जारी गरेको लकडाउनका कारण महिनौँसम्म मानिसहरू घरभित्रै सीमित रहन पर्यो। त्यस्तो बेलामा मानिसहरूको अत्यावश्यक दैनिक कामकाज प्रायः मोबाइल, ल्यापटप, कम्प्युटर र इन्टरनेटको सहायताले सम्पादन गर्न बाध्य बन्नपर्यो । फलस्वरुप नेपालमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अत्यधिक बढेको छ । यसलाई सकारामत्मक रूपमा समेत लिइएको छ ।
घरमै खाद्यान्न तथा तरकारी मगाउन, बालबालिकालाई विद्यालयसँग कनेक्ट गराउन, कार्यालयका कामहरू गर्न र अन्य धेरै कामका लागि जबरजस्त सूचना प्रविधिको प्रयोग गर्नपर्दा अहिले महामारी मत्थर हुँदा पनि नेपालीहरू सूचना प्रविधि प्रयोगको लतमै छन् र प्रयोग जारी छ । सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यससँग सम्बन्धित विद्युतीय माध्यमहरूको विकास र विस्तार पनि तीव्र बन्दै गएको छ । कार्यालयमा हुने कतिपय कामहरू र सर्वसाधारणको दैनिकीलाई सहज बनाउन थुप्रै मोबाइल वालेटहरूको जन्म यही आवश्कताले गराएको छ । उनीहरूबीचको व्यावसायिक प्रतिस्पर्धाका कारण सर्वसाधारणहरूले निःशुल्कै सेवा उपभोग गरिरहेका छन् । शुल्क लिनेहरूले पनि न्यून शुल्कमा विद्युतीय सेवाहरू उपलब्ध गराउँदै आएका छन् ।
पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपमा डिजिटाइज भएका छन् । जसका कारण क्यासलेस र चेकरहित कारोबारको क्रम बढ्दो छ । यसले सर्वसाधारणको दैनिकीलाई निक्कै सहज बनाएको छ । सँगै सूचना प्रविधिको बढ्दो प्रयोगबाट उत्पन्न केही विकृति, विसंगती र दुरुपयोगबाट सचेत रहँदै कामकाज सम्पादन तथा विद्युतीय भुक्तानीका गतिविधि गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ । सुरक्षित रूपमा कसरी सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने ? सचेत हुँदाहुँदै पनि कसरी गल्ती हुन्छ ? गल्तीहरू नदाहोर्याउन तथा अरुले गर्ने बदमासपूर्ण कामबाट कसरी जोगिनेलगायत विषयहरूमा पनि भृकुटीमण्डपमा शुरू भएको यो क्यान मेलाले तपाइँलाई धेरै मद्दत पुर्याउन सक्छ । तर, आफ्नो जिज्ञाशा शान्त पार्न १ रुपैयाँको टिकट लिएर मेलाको वल्लो छेउदेखि पल्लो छेउसम्म पुगेर एकसरो डुलेर मात्रै तपाइँ हामीले सबै ज्ञान आर्जन गर्न सक्दैनौं ।
त्यसका लागि तपाईँहामी जुन स्टलमा पुग्छौँ त्यो स्टलको उद्देश्य, सेवा प्रवाह, त्यसबाट हुने फाइदा, वेफाइदा र सम्बन्धित कम्पनीले बजारमा ल्याएको प्रडक्टहरू, त्यसले कसरी काम गर्छ र आफूले कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी लिन जरुरी छ । यस्ता जानकारी मेलामा उपलब्ध गराइने कतिपय प्रचारात्मक ब्रोसरहरूमा पनि उल्लेख गरिएका होलान् । तर, स्टलमा रहेका जानकार व्यक्तिहरूबाटै त्यससम्बन्धी ज्ञान लिने प्रयत्न गरियो भने बढी प्रभावकारी र जीवन्त बन्न सक्छ । हामीले प्राप्त गरेको ब्रोसरहरू पछि अध्ययन गरौँला भन्दाभन्दै पनि कार्यव्यस्तताका कारण समय अनुकुल नहुन सक्छ ।
तर, सम्बन्धित स्टलमै गएर व्यक्तिकै मुखबाट लिइने जानकारी र सूचनाहरू हजारौँ गुणा प्रभावकारी बन्ने हुन सक्छन् । त्यसकारण क्यान इन्फोटेकलाई हेर्ने मात्र होइन बुझ्ने प्रयत्न गर्नुपर्छ । सबैले सबै कुरा जानेका हुँदैनन्, त्यसर्थ सङ्कोच मानेर जिज्ञाशा दबाउनु जीवनका लागि हानिकारक बन्न सक्छ, सूचना प्रविधि मेलाको हरेक स्टलमा पुगेर प्रश्न गर्नुहोस् कि यो के हो, यसले कसरी काम गर्छ, मलाई के फाइदा हुन्छ र मैले कसरी प्रयोग गर्न सक्छु भनेर प्रश्न गर्नुहोस् ।
FACEBOOK COMMENTS