लामो समयको प्रतिक्षापछि शुरू भएको क्यान इन्फोटेक कसरी चलिरहेको छ ?
जहिले पनि हाम्रो प्रदर्शनीको दिन खासै अवलोकनकर्ताहरूको उपस्थिति रहने गरेको छैन । हामी पनि उद्घाटनसत्रको कार्यक्रममा व्यस्त भएका हुन्छौँ भने प्रदर्शनीकर्ताहरूको कतिपय सामानहरू नआइपुगेको अवस्था रहन्छ । त्यसमाथि उद्घाटनसत्रको दिन काठमाडौंमा हल्का वर्षा समेत भएका कारण पहिलो दिन सहभागिताका हिसाबमा कमी रह्यो । तर, दोस्रो र तेस्रो दिनसम्म आइपुग्दा इन्फोटेक भिजिट गर्ने अवलोकनकर्ताको संख्या क्रमशः बढ्दै गएको छ ।
क्यान इन्फोटेकको व्यवस्थापन पाटो कस्तो छ ?
व्यवस्थापनलाई हामीले चुस्तदुरुस्त पार्दै लगेका छौँ । दिनप्रतिदिन आउने प्रतिक्रिया र गुनासाहरूका आधारमा हामी अगाडि बढेका छौँ । साथै प्रदर्शनीको समय सकिएपछि हरेक दिन बेलुका हामी यसबारे समीक्षात्मक छलफल गरी आवश्यक रणनीति तयार पार्ने गरेका छौँ । जसका कारण व्यवस्थापनको पाटो फितलो हुन दिएका छैनौं । हामीले तत््तत् जिम्मेवारी पाएको भए पनि टी नै जुटेर काम गरिरहेका छौँ । जसका कारण व्यवस्थापनको पाटो सहज भएको छ ।
आजसम्मको अवस्था हेर्दा के–कस्ता कुरामा अवलोकनकर्ताको चासो देख्नुभयो ?
मैले सरसर्ती हेर्दा विशेषगरी रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेट, स्टार्टअप र इन्नोभेसनसम्बन्धी नयाँ–नयाँ प्रडक्ट र आइडियाहरूमा उहाँहरूको आकर्षण रहेको पाएँ । त्यस्तै सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन राखिएका स्टलहरू पनि भरिभराउ नै देखिएका छन् । मानिसहरूले यो पटक मिहिन ढंगले क्यान अवलोकन गरिरहेका छन् ।
तपाइँहरूले विभिन्न भेराइटीका स्टल राखेर एक्जिविसन गरिरहनुभएको छ । यहाँ आउने अवलोकनकर्ताहरू पनि फरक–फरक इच्छा र चाहना राखेर आउनुहुन्छ, उहाँहरूको चाहनालाई यो इन्फोटेकले पूर्णरूपमा सम्बोधन गर्न सक्छ ?
डेफिनेट्ली पूरा गर्छ । किनभने उहाँहरूको इच्छाहरूलाई केन्द्रित गरेर नै हामीले इन्फोटेकको प्लान गरेका हुन्छौँ । त्यसैले इन्फोटेकलाई विभिन्न खण्डहरूमार्फत व्यवस्थित गएिको छ । जहाँ हामीले ब्राण्डिङ, फिनटेक, स्टार्टअप र इन्नोभेसन, आईसीटी एक्सेसेरिज तथा प्रडक्ट लञ्चिङ र ई–गभर्नेन्सलाई छुट्टाछुट्टै प्रस्तुत गरेका छौँ । त्यसका अलावा विभिन्न प्याभेलियनहरूको समेत व्यवस्था गरेर अवलोकनकर्ताहरूको इच्छा र चाहनालाई अधिकतम सम्बोधन गर्ने प्रयत्न गरेका छौँ ।
यो इन्फोटेकमा ई–टिकटिङको प्रबन्ध पनि गर्नुभएको छ, कस्तो छ आगन्तुकहरूको चासो ?
अवश्य पनि रू. १ कै टिकटमा उहाँहरूको चासो रहेको मैले पाएको छु । किनभने हामी स्वाभाविक रूपमा क्यासलेस र पेपरलेसमा गइसकेका छौँ । कसैलाई एप डाउनलोड गर्न तथा त्यसको प्रयोग गर्न झन्झट लागेको भए पनि अबको जमाना अनुसार हामी चलौँ र प्रविधिको प्रयोगलाई आत्मसाथ गरौँ भन्न चाहान्छु । किनभने कोभिडको बेला हामीलाई जे जति समस्या परेको थियो धेरैजसो समस्या आईसीटीले नै सम्बोधन गरेर सहज तुल्याएको थियो । आज परिस्थिति सहज भयो भनेर आईसीटीको प्रयोग किन छोड्ने ? यसलाई प्रयोग गर्दा समयको बचतदेखि धेरै कुरामा सहयोग मिलिरहेको छ । ई–टिकटका लागि मात्रै होइन अहिले तपाइँले डाउनलोड गर्नुभएको एपले अरु धेरै काम गर्छ । जसलाई थाहा छैन उहाँहरूले सम्बन्धित एपको स्टलमा गएर जानकारी लिन र प्रयोगबारे सिक्न सक्नुहुनेछ । त्यसतर्फ अवलोकनकर्ताहरूको ध्यानाकर्षण गराउन चाहान्छु ।
क्यान इन्फोटेकबारे थप केही भन्न चाहानुहुन्छ ?
कोभिडका कारण दुई–दुई पटक स्थगित भएको मेला ढिलो गरी भए पनि आयोजना गरिएको छ । सम्पूर्ण जनमानसलाई एकपटक भिजिट गरिदिनुहुन अनुरोध गर्दछु । कसैलाई केही समस्या भए वा गुनासाहरू भए हाम्रो सचिवालयमा आएर जानकारी गराउन पनि अनुरोध गर्दछु । आएका गुनासा, सुझाव र देखिएका समस्यालाई समाधान गर्दै इन्फोटेकलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
FACEBOOK COMMENTS