काठमाडौं । कोभिड–१९ महामारी, आर्थिक मन्दी, बैंकमा तरलता अभाव र आयात निरुत्साहित गर्ने सरकारी नीतिका कारण वैदेशिक व्यापार प्रभावित हुन थालेको छ ।
साउनबाट आयात घट्न थालेपछि निर्यात पनि प्रभावित भएकाले नेपालको वैदेशिक व्यापारमा प्रभाव देखिएको हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को भदौसम्ममा देशको वैदेशिक व्यापार १५ दशमलव ७० प्रतिशतले घटेको छ । २०७८ भदौसम्ममा ३ खर्ब ५८ अर्व ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा २०७९ भदौसम्ममा ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ झरेको छ ।
विभागले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्ममा १३ दशमलव शून्य १ प्रतिशत आयात घट्दा निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ । यस कारण व्यापार घाटामा पनि ९ दशमलव ४५ प्रतिशतले कमी आएको छ ।
चालू आवको पहिलो महीना साउनमै वैदेशिक व्यापार १४ दशमलव ८१ प्रतिशतले घटेको थियो । २०७९ साउनमा आयात १२ दशमलव ९०, निर्यात २८ दशमलव ६८ र व्यापारघाटा १० दशमलव ३८ प्रतिशतले घटेको थियो । गत आवको शुरूदेखि नै विदेशी मुद्राको सञ्चितिमाथि परेको दबाबका कारण आयात निरुत्साहित गर्ने सरकारले नीति लिएको थियो ।
आयात कम गर्न राष्ट्र बैंकले नगद मार्जिनको प्रावधानका साथै सुन आयात कोटा घटाएको थियो । सरकारले पनि विभिन्न प्रकारका विलासी सामान आयातमा रोक नै लगाएको आजको आर्थिक अभियान दैनिमा समाचार छ ।
FACEBOOK COMMENTS