सर्लाही । सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमसखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेललगायतको सहभागिता थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वी नाका पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो । खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ । “नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालेका हौँ”, उनले भने ।
दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लासित जोडिएको ५१ किलोमिटर खुला सिमानामा ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएको छ ।
FACEBOOK COMMENTS