काठमाडौँ । दि गोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा.लि ले निर्माण सम्पन्न भएको लामो समयसम्म भुक्तानी नपाएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष वसन्तबहादुर भुजेलले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफूले २०५२ सालमा सम्झौता भएको लमजुङ जिल्लाको डुम्रवेशी सहर सडक तथा पुल निर्माणको भुक्तानी अहिलेसम्म नपाएको बताएका हुन् ।
सरकारले भुक्तानी नदिँदा धितो जमानीमा रहेको सम्पत्तिसमेत बैंकले जफत गरेको उनको गुनासो छ । कार्यक्रममा भुजेलले आफू राज्यबाट अन्यायमा परेको बताए ।
उनले पाउनुपर्ने रकम ६८ करोड ८६ लाख ३८ हजार ६२ रुपैयाँ रहेको जानकारी दिए । उनले आफूलाई राज्यले क्षतिपूर्तिसहित तत्काल भुक्तानी नदिए संघर्षमा जाने चेतावनीसमेत दिए ।
डुम्रवेशी सहर सडक र पुल निर्माणका लागि नेपाल सरकार सडक विभागद्वारा ठेक्का सम्झौताअनुसार कार्य सम्पन्न भइसकेको उनको भनाई छ ।
तत्कालीन निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आफूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी ठेक्का सम्झौताबमोजिमको कार्य गर्न दिएको उनले बताए ।
कार्य सम्पादनको अन्तिम चरणमा पुगेको अवस्थामा एकतर्फी रूपमा ठेक्का सम्झौता तोडिएको कारण आफूले निकै ठूलो आर्थिक क्षति व्यहोरेको उनको दाबी छ ।
सम्झौता भए बमोजिमको काम सम्पन्न गर्न बैंक अफ काठमाण्डुबाट आफूले कर्जा लिएको र सरकारले लामो समयसम्म भुक्तानी नदिएको कारण कर्जा लिँदा बैंकमा राखेको धितोसमेत लिलाम भएको उनले बताए ।
बिनाकारण ठेक्का सम्झौता रद्द हुँदा सडक विभाग र कम्पनीको तर्फबाट विवाद समाधानका लागि ट्राइवुनल गठन गरी विवाद समाधानको प्रयास भएको उनले बताए ।
ट्राइवुनलको आदेशउपर आफू उच्च अदालत हुँदै सर्वोच्च पुगेको उनले बताए । सर्वोच्चले पनि दाबीबमोजिमको रकम पाउनुपर्नेमा कुनै विवाद नरहेको फैसला गरेको उनले बताए ।
निवेदकहरूको माग दाबी बमोजिमको रकम नेपाल सरकार निर्माण यातायात मन्त्रालय, सडक विभागले भुक्तानी गरी विवाद टुङ्ग्याउनु उपयुक्त हुने फैसला सर्वोच्चले गरे पनि हालसम्म उक्त फैसला कार्यान्वयन हुन नसकेको उनले दुखेसो पोखे ।
FACEBOOK COMMENTS