काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले मिटरब्याजीलाई कडा कारबाही नगरेसम्म नियन्त्रणमा ल्याउन नसकिने बताए।
‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यो गलत कुरा हो,कानून विपरित छ भन्नेकुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ।’
अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए।
उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए। उनले आम नागरिकहरु बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताए।
उनले भने, ‘अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनु हुँदैन। मिटरब्याजको पीडित जो भएको छ, उनीहरुले पनि सोच्नुपर्छ। मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्नेभयो। सहमति त त्यही हुन्छ। हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन। मिटरब्याजमा पैसा लिनु भएन। आफैँ पनि सचेत हुनुपर्छ।’
यस्तै अध्यक्ष ओलीले जनयुद्ध दिवसलाई हिंसा दिवसका रुपमा टिप्पणीसमेत गरेका छन्। फागुन १ गते हिंसा दिवस भएकाले त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको प्रति आक्रोश पोखे।
FACEBOOK COMMENTS