काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगरतर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।
‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने।
हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरि यथावत स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशील विषय बनेको पनि बताएका छन्।
‘देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरु जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन। नयाँ नेतृव चयनका लागि सहमतिको प्रयास गर्दै–गर्दा सहमति हुन नसक्नु दु:ख लाग्दो विषय हो,’ श्रेष्ठले भने, ‘सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा मेरो लागि पदभन्दा पनि वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ। तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समुहको नेतृव पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफूलाई उभ्याउने प्रयास गरेको छु।’
सबै जना नेतृत्वका लागि एकैपटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए। देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रुपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यहरुलाई मजबुत रुपमा संगठित गरि नयाँ जोश र सक्रियता तर्फ लम्काउन जरुरी रहेको बताए।
‘सबै सदस्यहरुले पाउने सेवाहरु सूचारु रुपले प्रदान गर्न, सबै वर्गका सदस्यहरुले महासंघले आफूहरुप्रति समान व्यवहार गरेको महशुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थपूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन मैले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’, उनले भने।
FACEBOOK COMMENTS