काठमाडौं । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने ताल सम्मेलन प्रतिबद्धता सहितको पाँच बुँदे घोषणा जारी गर्दै सकिएको छ।
तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको ९ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गरेको छ।
सम्मेलनले अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्यअनुरुप विभिन्न विषयविज्ञको प्रस्तुतिबाट प्रतिबद्धता सहितको घोषणापत्र जारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले जानकारी दिइन्।
उनका अनुसार सम्मेलनमा अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि व्यवस्थापक कानुन व्यवसायी, पत्रकार तथा विद्यार्थी, व्यवस्थापन र तालसँग सम्बन्धित नीति र अवस्थाका बारेमा करिब २० वटा प्रस्तुति राखिएको थियो। योसँगै पोखरास्थित विभिन्न पाँच वटा ताल भ्रमणसँगै त्यहाँका ताल प्रबन्धकबाट लक्ष्य चुनौती र सफलताका कथा बुझ्ने प्रयास गरिएको थियो।
सम्मेलनबाट पहिचान गरी जारी गरिएको घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक सङ्ख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा उपत्यका अर्थतन्त्र र स्थानीय जनताको जीविकोपार्जनका लागि तालको महत्व, विगतका प्रयासको अघिल्लो दशकको तुलनामा तालको पारिस्थितिकीय अवस्थामा ह्रास आएको घोषणापत्रमा उल्लेख छ।
साथै, स्थानीय समुदायको आर्थिक आवश्यकता पूरा गर्दै पारिस्थितिकीय अवस्था कायम राख्न स्थानीय समुदाय, सरकारी अधिकारीहरु र प्राविधिक विज्ञबीच घनिभूत सहकार्य आवश्यकता रहेको तथा यी समूहहरुमध्ये एक पक्षसँग मात्र ताललाई व्यवस्थापन गर्ने स्रोत ज्ञान वा क्षमता नभएको लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ।
FACEBOOK COMMENTS