काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीले छलफल गरिरहेका छन्।
प्रधानमन्त्री निवास (बालुवाटार) मा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओलीले छलफल गरिरहेका हुन्।
प्रधानमन्त्रीको सचिवालयले तीन दलका शीर्ष नेतृत्वबीच छलफल सुरु भएको जानकारी दिएको छ। छलफलको विषय भने खुलाइएको छैन।
नक्कली भुटानी शरणार्थी प्रकरण चर्किएको तथा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकमा सहमति हुन बाँकी रहेका बेला ठूला तीन दलका शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो ।
तीन दलका शीर्ष नेताहरुमात्र पटक-पटक छलफलमा बस्दा शंका उत्पन्न भएको रास्वपाका सभापति रवि लामिछानेले बताएका थिए ।
यसअघि पनि पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।
पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी फरार रहेका छन् ।
FACEBOOK COMMENTS