काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताए ।
“नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय भएको छ,” उनले भने ।
बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उनले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखे ।
शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गरे । उनले मुलुकलाई सुशासनतर्फ लैजानका लागि सबै प्रकारका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताए ।
महासचिव पोखरेलले एमाले सबै प्रकारका भ्रष्टाचारका घटनाको छानबिन गर्न तयार रहेको बताए । उनले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताए । सुशासन, स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षाको नेतृत्व गर्ने एमालेलाई कमजोर पार्नका लागि एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS