काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालन गरेको छ । नेप्सेले यस डिलर कम्पनीलाई सदस्यता नम्बर ६० प्रदान गरेको छ ।
कम्पनीले जेठ २५ गतेबाट औपचारिक रुपमा नयाँ बानेश्वर स्थित कार्यालय (नागरिक लगानी कोषको पुरानो भवन) बाट धितोपत्र दलाल सेवाको सुरुवात गरेको हो । यसअघि नागरिक स्टक डिलरको सेयर कारोबार नेप्सेमा ‘डी०१’ बाट हुने गरेको थियो ।
सरकारको वित्तीय क्षेत्र विकास रणनीति अनुरुप नेपालमै पहिलो पटक सरकारी स्वामित्वका संगठित संस्थाहरुको संयुक्त लगानीमा स्थापित यस नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर दलाल सेवा (ब्रोकर सर्भिस) संचालनबाट पुँजीबजारको विकास विस्तार र विविधिकरणमा मद्दत पुग्ने विश्वास लिएको छ ।यस स्टक डिलरले नेपाल धितोपत्र बोर्डबाट २०७७ माघ ९ गते धितोपत्र व्यापारीको अनुमति प्राप्त गरी नेपाल स्टक एक्सचेन्जमा २०७७ माघ २९ गतेको सदस्यता वमोजिम ‘डी०१’ को संकेतबाट धितोपत्रको कारोबार गर्दै आईरहेको थियो ।
कम्पनी आफ्नो लक्षित उदेश्य अनुरुप धितोपत्र दलाल सेवा सञ्चालन अनुमतिको निम्ति प्रक्रिया अगाडि बढाएकोमा वैशाख १७ गते प्रचलित धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलालको समेत कार्य गर्ने अनुमति प्राप्त गरेको हो ।
यस अवसरमा आम लगानीकर्ताको चाहना र सहजतालाई केन्द्रमा राखेर प्रचलित नियामकिय व्यवस्थाहरुको पूर्ण पालना गर्दै प्रविधीमैत्री, पहुचयोग्य, पारदर्शी र चुस्त सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । लगानीकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै एकीकृत सेवाको अवधारणा अनुरुप कम्पनीले निकट भविष्यमै डीपी सेवा, मार्जिन लेन्डिङ्ग लगायतका सेवाहरु प्रदान गर्ने योजना बनाएको छ ।
पुँजी निर्माण र परिचालनको महत्वपूर्ण चेम्बरको रुपमा रहेको सेयर बजारलाई देशभर पहुँचयोग्य बनाउने सरकारको योजनामा हातेमालो गर्न यस कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउछमाँ शाखा कार्यालयहरुको विस्तार गर्ने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS