काठमाडौ । तापक्रम र मनसुनको उतारचढावले कृषि उत्पादनमा गहिरो असर पर्न थालेको छ ।
नेपालको खेती मौसमी प्रणालीमा निर्भर छ तर कृषिसँग सम्बन्धित मौसमी सूचना अनिश्चित छ । जसका कारण किसानले बारम्बार नोक्सानी बेहोर्नुपरेको कृषि विज्ञहरूको गुनासो छ ।
अघिल्लो वर्ष असोजमा बेमौसमी वर्षा हुँदा खेतमै काटेको धान सोत्तर बन्यो । यो वर्ष हिउँदमा कम वर्षा हुँदा बाली राम्रो उत्पादन भएन । यस पटकको वर्षामा पनि कम पानी पर्ने पूर्वानुमान छ तर मनसुन भित्रिने र सक्रिय रहने सही समयको सूचना किसानले पाउन सकेका छैनन् ।
गत साताको खडेरीले धानको ब्याड सुक्यो, मकैका बोट सुके । बाली रोगविज्ञ चेतना मानन्धरका अनुसार खडेरीमा बाली सखाप हुने समस्या बढी आउँछ । उनी भन्छन् “सुकेको बोट फेरि बिउँतिन्छ वा बिउँतिँदैन वा रोग लाग्यो कि भनेर जँचाउन किसान आइरहेका छन् । त्यसैले मौसमी समस्याको जानकारी दिनु आवश्यक छ ।”
पानी र वातावरणको असन्तुलनका कारण मौसमी बालीमा रोग तथा किराका समस्या पनि देखिन्छन् । बाढी, डुबान र खडेरीको विकल्पसहितको जानकारी नहुँदा बाली नोक्सान हुने प्रबल सम्भावना रहेको उनी बताउँछन् । बायोटिक समस्याले देखिने रोगको पहिचान गरेर उपचार गर्न सकिन्छ । पहिल्यै उपचार गरेर लगाइएमा पनि रोग र वातावरणको असर कम पर्ने सुझाव उनले दिए ।
कृषि मौसमविद् रामेश्वर रिमालले एक सातादेखि अत्यधिक तातो बढ्दा मकै र धानको बिउमा बढी असर परेको बताए । त्यस्तै गाईवस्तुमा पनि तापक्रमको अप्रत्यक्ष असर परेको छ । दुहुना गाईवस्तुमा गर्मीको तनाव अर्थात् हिटस्ट्रोक भएको पाइएको छ ।
मौसमको उतारचढावकै कारण यस्तो भयो भन्ने चेतना किसानसम्म पुग्न सकेको छैन । पशुमा हुने यस्ता समस्याले दूध कम दिने, श्वासप्रश्वास समस्या आउने गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS