काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकोले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन् ।
आज इप्पानको २१ औं साधारण सभाको उद्घाटनमा बोल्दै अध्यक्ष आचार्यले जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकोले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने आचार्यले बताए ।
‘पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ । कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो । नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ । हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ ।‘ आचार्यले अगाडि भने ।
नेपालको विद्युत् जडित क्षमता करिब ३ हजार मेगावाट पुग्दा, ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन, ११ हजार मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको आचार्यले बताए ।
आजको दिनमा खपत बढाउनु भने चुनौती रहेको आचार्यले बताए । औद्योगिक, सिँचाइ, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा खपत बढाउनु पर्ने उनले बताए । विद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेश बिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नको लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने आचार्यले बताए ।
‘एक मेगावाटको आयोजना बनाउने निजी क्षेत्रका साथीहरू आज १०० मेगावाटको आयोजना बनाइरहेका छन् । अब निजी क्षेत्रले जत्रो आयोजना पनि बनाउन सक्छ । सरकारले सहयोग गरिदिनुपर्यो ।‘ आचार्यले भने ।
FACEBOOK COMMENTS