इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । नेपाल भित्रिए संगै व्यवशायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो ।
रमडाको मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतबिच भारतको दिल्लीमा शुक्रबार होटल सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवशायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताएका छन् ।
उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले विंडहाम होटेल्स कम्पनिसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन् ।
कार्यक्रममा बोल्दै विंडहाम होटलस् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता दिने बताए ।
यस्तो हुनेछ होटल
निर्माणाधिन पाँच तारे उक्त होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा रहेका छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन् ।
भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरुलाई विश्वस्तरीय होटलको सुविधा दिने दावी गरिएको छ । पुर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवशायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवशायीक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ ।
होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS