वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
कर्पोरट खबर
4:52 pm, शनिबार, असार ३०, २०८०
काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म २ लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ ।
सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनु अगावै कोषमा सूचीकृत हुनुपर्नेछ । कोषमा औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन् ।
कोषमा हालसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कूल ६ लाख ३९ हजार १ सय ७४ श्रमिक सूचीकृत भएका छन् । कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई ५ अर्ब एक करोड दाबी भुक्तानी गरेको छ ।
कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उनका अनुसार हालसम्म ३६ अर्ब २६ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।
कोषले औपचारिक क्षेत्रका श्रमिकका तर्फबाट मासिक ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत योगदान रकम सङ्कलन गर्दै आएको छ । कोषबाट हालसम्म ८८ हजार ५ सय ८५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् ।
FACEBOOK COMMENTS