काठमाडौं । नेपाल वायुसेवा निगमले २०८० असार मसान्तसम्ममा ८३ करोड ऋण तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष (सीआईटी) लाई त्रियासी करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ रकम भुक्तानी गरेको हो ।
अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई वाइडबडी र दुई न्यारोबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता भुक्तानी गरेको हो । निगमले यसअघि पनि २०७९ असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको छ ।
वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि व्यापार विस्तार र आम्दानीमा भन्दा सुधार हुँदै गएको निगमको दाबी छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले जनाएको छ ।
विभिन्न निकायका पुराना वक्यौता रकम तिरिएको छ तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आएको निगमले दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी खरिद गर्ने कार्ययोजनासमेत तीव्र गतिमा अघि बढाएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
FACEBOOK COMMENTS