काठमाडाैं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि मन्त्रीहरूलाई प्रश्नैप्रश्न सोधेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेतर्फ लक्षित गर्दै शर्माले निरन्तर बैठक अवरोध भइरहँदा जनताका आवाज राख्न नपाएको पनि बताए।
‘हिजोअस्ती संसद चलेको हुँदो हो त सभामुखकै क्षेत्रमा चिया श्रमिकले प्रदर्शन गर्दै सोधेका प्रश्न पनि राख्ने मलाई मन थियो,’ उनले भने, ‘श्रममन्त्रीज्यू, न्यूनतम ज्याला साउन २ गतेदेखि बढ्नुपर्ने थियो, अहिलेसम्म किन बढेन?’
शर्माले लम्पी स्किन संक्रमण रोक्न के-कस्ता पहल भइरहेका छन् भनेर कृषि मन्त्रीलाई पनि प्रश्न गरेका छन्।
‘सोध्न मन थियो स्वास्थ्य मन्त्रीलाई, आँखा पाक्ने रोग तीव्र ढंगले फैलिएको छ। डेंगी पनि फैलिएको छ। स्वास्थ्य मन्त्रीजी, राज्यको गम्भीरतापूर्वक काम भइरहेको छ कि छैन?,’ उनले प्रश्न गरे।
उनले तामाङ समुदायले प्रदर्शन गर्दा किन हस्तक्षेप गरिएको भन्दै गृहमन्त्रीलाई पनि प्रश्न गरेका छन्।
तर संसद नचल्दा आफूले यी विषय सोध्न विगतमा नपाएको शर्माको गुनासो छ।
‘प्रधानमन्त्रीलाई पनि सोध्नु थियो, लुम्बिनीमा एउटा विवादास्पद व्यक्तिलाई नियुक्ति किन गरियो?,’ उनले भने, ‘संसद नचल्दा समयमै यो कुरा सोध्न पाइएन। आज संसद खुलेको छ, एकआपसमा बधाई साँटासाँट गर्नुपर्ने अवस्था छ।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन आयात हुने विषय गम्भीर रहेको पनि बताए।
‘एअरपोर्टबाट सुन प्रवेश गर्दा सरकारको गम्भीर गल्ती हो। तर सिनामंगलको चोकमा बरामद गर्दा कसले बरामद गरेको हो? सरकारको एउटा हातले कमजोरी गर्दा अर्को हातले बरामद गर्यो, यो कुरा हामीले बिर्सनु हुँदैन,’ उनले भने।
उनले सुन प्रकरण छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गर्ने पनि बताए।
‘१०० किलो सुन त भेटियो तर म प्रश्न गर्न चाहन्छु- ३३ किलो सुनको छानबिन आयोग त छोड्नुस्, सुन एक तोला पनि नभेटिईकन फाइल बन्द भयो,’ एमालेप्रति लक्षित गर्दै शर्माले भने, ‘हामीले आफैँप्रति अविश्वास गरिरहेका छौं। हामी पालैपालो सरकारमा बसेर बनाएका संस्थाहरूप्रति अविश्वास गर्दैछौं, यसको अर्थ हामी आफैँ, आफैँलाई प्रश्न गर्दैछौं।’
उनले सिआइबीप्रति अविश्वास नगर्न पनि आग्रह गरेका छन्। ‘नेपालको संविधानले भन्छ- जघन्य अपराध र संगठित अपराधको गहिराईमा गएर अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको हो,’ उनले भने।
उनले संसद अवरोध गरेर भन्दा पनि खुला राखेर नै विषयहरूबारे कुरा राख्नुपर्ने बताएका छन्। उनले एमालेलाई लक्षित गर्दै ‘संसद कति दिनलाई खुलेको हो?’ भन्ने प्रश्न पनि गरेका छन्।
FACEBOOK COMMENTS