कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।
सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनीले यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्नका लागि सार्वजनिक सूचना निकालेको हो । आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् ।
भिजन लुम्बिनीले आफ्नो जारी पुँजी १ अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
उनका अनुसार सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले १ लाख ९१ हजार दुई सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिने छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम्मा तीन लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम् १९ हजार एक सय २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असोज २ गतेभित्र आवेदन दिनुपर्ने बताइएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताए । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । कम्पनीका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए ।
उनले भने, “जलविद्युत्मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार ५ सय जना प्रवर्द्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।”
माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावरहाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।
पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । सेती जलविद्युत् आयोजनामा ५ अर्ब लगानी रहेको छ । यसमा ३ अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गर्न लागिएको आयोजना प्रमुख इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए ।
FACEBOOK COMMENTS