काठमाडौं । गत जेठ १८ गते भत्तलपुरको चाँगुनारायण नगरपालिका ३ मा एक ३५ वर्षीया युवती मृत अवस्थामा फेला परिन् । शव सुन्निएको थियो । प्रहरीले जाँच गर्दा ती युवतीको नाम कुमारी बस्नेत रहेको पत्ता लाग्यो । तर ठेगाना पत्ता लागेन ।
सनाखत गर्न न चिनेका मानिस फेला परे न आफन्त । प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल पुर्यायो । त्यो शव अस्पतालको मर्चरी (शव फ्रिजिङ गर्ने बाकस) मा छ । यस्तै जेठ २ गते ललितपुर महानगरपालिका ७ ग्वार्को चोकमा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला पर्यो ।
शवसँग ती व्यक्तिको पहिचान खुल्ने कुनै प्रमाणपत्र फेला परेन । न कसैले उनको सनाखत गर्न सक्यो । त्यसपछि प्रहरीले मुचुल्का उठाएर शव मर्चरीमा लगेर थन्कायो ।
यी दुई उदाहरण मात्रै हुन् । २०७२ सालको भूकम्पयता प्रहरीको रेकर्डमा १ हजार ४४८ बेवारिसे शव फेला परेका छन् । जसमध्ये केहीको मात्र आंशिक परिचय खुलेको छ । आंशिक परिचयमा कसैको नाम र कसैको अस्पष्ट हुनेगरी ठेगाना खुलेको प्रहरी रेकर्डले देखाउँछ । पहिचान नखुलेका व्यवस्थापनमा भने प्रहरीले सास्ती भोग्नुपर्ने आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS