काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताए ।
“एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,”प्रधानमन्त्री प्रचण्डले भने,“देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।”
प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूको माग अनुसार नागरिकता विधेयक कार्यान्वयन आएर गैरआवासीय नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशबाट नेपाली मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने बताए ।
नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीको अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न सुझाव गरे । उनले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे ।
सो अवसरमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको बताए । आफूले चुनावी घोषणापत्रमा २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गरेको भन्दै सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाए । आफूहरू गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने अभियानमा रहेको बताए ।
एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
FACEBOOK COMMENTS