काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् ।
आज बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च म २७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका-६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरी कोइरालाका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ ।
दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका-५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको ।
यस्तै घाइते हुनेहरुमा बिमला मलाल गम्भीर घाइते छिन् । हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल घाइते भएका छन् ।
घाइतेको दियायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
FACEBOOK COMMENTS